s

'शीप बिल्डिङ' परीक्षामा सहभागी २० हजार ९०४ जनाले दिए उत्पादन क्षेत्रतर्फ आवेदन

दक्षिण कोरिया जान पानीजहाज निर्माण (शीप बिल्डिङ) को परीक्षामा सहभागी २० हजार ९०४ जनाले उत्पादन क्षेत्रतर्फको परीक्षाका लागि आवेदन दिएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पुस २० गतेसम्म उनीहरूले आवेदन दिएका हुन्।

शाखाका अनुसार शीप बिल्डिङका लागि भाषा परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाको संख्या ३० हजारभन्दा बढी थियो।

यसअघि एचआरडी सर्भिस अफ कोरियाले ३१ जुलाई २०२३ मा एउटै वर्षमा एक व्यक्तिले फरक–फरक क्षेत्रका लागि आवेदन दिन नपाउने भन्दै पत्र पठाएको थियो।

यो बेहोरा उल्लेख गर्दै इपिएस शाखाले गत साउन १५ गते एउटा सूचना सार्वजनिक गरेको थियो। उक्त सूचनापछि गत पुस ५ गते शीप बिल्डिङमा सहभागी सुरज पाठकसमेत १८ जनाले उत्पादनमूलक क्षेत्रको परीक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

उच्च अदालत पाटनले पुस ५ गते मुद्दा दायर गर्ने १८ जनालाई उत्पादन क्षेत्रमा रोजगारीका लागि परीक्षा आवेदनमा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशअनुसार १८ जनालाई मात्रै शाखाले परीक्षा आवेदन दिन बोलाएको थियो।

बाँकी युवाहरू पनि उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए।

बालकुमारी सडकमा भएको आन्दोलनका क्रममा दुई युवाहरूको ज्यान समेत गयो।

सोही दिन उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशअनुसार शाखाले उनीहरूका लागि परीक्षा आवेदन खुलाएको थियो। शाखाले पहिलो पटक पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकेको थियो। त्यसबेला १४ हजार आवेदन परेको थियो।

विभिन्न प्राविधिक समस्याका कारण कतिपयले आवेदन दिन नसकेको कारण देखाउँदै वैदेशिक रोजगार विभागका महानिर्देशकले पुस २० गतेसम्म म्याद थप्ने निर्णय गरेका थिए।

यतिबेला एकै वर्षमा फरक–फरक क्षेत्रको परीक्षाका लागि सहभागी भएकाहरूलाई कोरियाले लैजान्छ कि लैजाँदैन भन्ने प्रश्न उठिरहेको छ। कोरिया सरकारले यसबारे केही निर्णय गरिसकेको छैन। कोरिया पक्ष सकारात्मक रहेको अधिकारीहरूले बताउँदै आएका छन्।

कोरियाको उत्पादन क्षेत्रका लागि यसअघि नै एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए।

Published on: 8 January 2024 | Setopati

Link

Back to list

;