s

शवमात्रै आउने विभागले हाकिम पाएन

सधैं आकर्षक पोस्टिङका लागि हानाथाप चल्ने परराष्ट्र सेवामा यतिबेला विदेशमा दुःख पाएका नेपालीहरूको मामला हेर्ने कन्सुलर विभागमा महानिर्देशकका रूपमा पठाउन एउटा सहसचिव भेटिएकोे छैन । यसअघि उपसचिवलाई कायममुकायम बनाएर अनाकर्षक कन्सुलर विभाग चलाइएको थियो ।

विदेशमा नेपाली समुदायको संख्या र मामलामा उल्लेख्य वृद्धि हुँदै गएका कारण यो निकाय गत वर्ष महाशाखाबाट विभागीय स्तरमा स्तरोन्नति भएको हो । कर्मचारीहरू कामको प्रवृत्ति र अतिरिक्त लाभको अभावका कारण त्यहाँ जान रुचाउँदैनन् । कसैको प्राथमिकता नपरेका कारणले पनि विभागको त्रिपुरेश्वरस्थित कार्यालय अव्यवस्थित र अनाकर्षक रहेको छ ।

विभागीयस्तरमा बढुवा गरिएपछि पनि त्यहाँ कोही जान नमानेपछि एक उपसचिवलाई प्रमुख बनाएर पठाइएको हो । उपसचिवका रूपमा कन्सुलर विभाग चलाएका यादवराज खनालले गत महिना अनिवार्य अवकाश पाएपछि विभाग नेतृत्वविहीन बन्दै आएको छ ।

दैनिक दर्जनौं गम्भीर समस्या तेर्सिने कन्सुलर विभागमा परराष्ट्र मन्त्रालयले महानिर्देशक पठाउन नसकेपछि त्यहाँ भाँडभैलो सुरु भएको छ । 'हामीलाई अब सेवाग्राहीले जेसुकै गर्ने स्थिति छ । काम सबै रोकिएको छ । हामीले पनि तलब खान पाएका छैनौं,' एक अधिकृतले कान्तिपुरसँग भने ।

पछिल्ला दिनसम्म परराष्ट्रमन्त्री माधव घिमिरेको गृह मन्त्रालयतर्फको व्यस्तता र परराष्ट्र सचिव अर्जुनबहादुर थापाको विदेश यात्रालाई कारण देखाइँदै आए पनि त्यसमा सत्यता नभएको अधिकारीहरू बताउँछन् ।

मन्त्रालयले केही दिनअघि मात्र भारतस्थित दूतावासको डेपुटी चिफ अफ मिसन -डीसीएम) मा सहसचिव कृष्णप्रसाद ढकाललाई नियुक्त गरेको हो । त्यससँगै कन्सुलर विभागका लागि भने मन्त्रालयले केही गर्न सकेन । ढकाल छ महिनापछि भारत पोस्टिङमा जानेछन् । 'दिनदिनै लासमात्रै आउने यो ठाउँमा को आउन चाहोस्,' विभागका कर्मचारी भन्छन् ।

मन्त्रालयका अधिकारीहरूका अनुसार कोही सहसचिव जान नमानेकाले वरिष्ठ उपसचिवलाई भए पनि त्यहाँ पठाउने कोसिस भइरहेको छ । 'त्यो पनि सम्भव भइरहेको छैन,' उनीहरू भन्छन् । यसैबीच खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले केही दिनमै भारतका डीसीएम खगनाथ अधिकारीलाई स्वीट्जरल्यान्डका लागि राजदूतमा नियुक्त गर्ने तयारी सुरु गरेको छ । त्यसैकारण ढकाललाई भारत पोस्टिङ गरिएको जानकार स्रोत बताउँछन् ।

कन्सुलर विभागको यस्तो दुर्दशा चलिरहँदा बुधबार परराष्ट्रले सबैजसो शाखा अधिकृतहरूको सरुवा गरेको छ। परराष्ट्र सेवाभित्रको आकर्षक पोस्टिङको सदावहार होडबाजी र राजनीतिक दलहरूको समेत नजर लागेका कारण सरकारले महिनौं, वर्षौं बित्दा पनि विभिन्न पाँच देशमा राजदूत नियुक्त गर्न सकेको छैन ।

Published on: 14 November 2013 | Kantipur

Back to list

;