s

शरणार्थीलाई घरफिर्ता गराउन रिजालको आग्रह

भुटानी नेता टेकनाथ रिजालले तेस्रो देश पुनर्बासपछि शिविरमा बाँकी रहेका झन्डै ७ हजार भुटानी शरणार्थीलाई जसरी भए पनि घरफिर्ता गराउन आग्रह गरेका छन्  ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्दै नेता रिजालले १ लाखभन्दा बढी भुटानी शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुगिसकेको र बाँकी केही अझै शिविरमा रहेको अवस्थामा विश्व समुदायको सहयोग लिएर घरफिर्तीको पहल गर्न अनुरोध गरेका थिए ।

‘नेपाल–भुटान वार्तामा भएको सहमति र भुटानी नागरिकको आधिकारिक पहिचानलाई मान्यता दिनैका लागि भए पनि शिविरका बाँकी शरणार्थीलाई घरफिर्ती गराउनु अर्थपूर्ण रहन्छ,’ रिजालले मन्त्रीसँगको भेटवार्ताबारे कान्तिपुरसँग भने, ‘अन्यथा यो शरणार्थी समस्या समाधानका मामलामा नेपाल सरकारको हार भएजत्तिकै हुन्छ ।’

मन्त्री ज्ञवालीले बाँकी शरणार्थीको घरफिर्तीका लागि पहल गरिने र यो समूहलाई कुनै अवस्थामा पनि स्थानीय बसोबास नगराइने जनाएका थिए । ‘स्थानीय नेपालीसँग बिहे गरेका केही शरणार्थीको हकमा जन्मदर्ता गरिएको हुन सक्छ । तर, शरणार्थीको स्थानीय बसोबास सम्भव छैन, यसो गरिन्न,’ मन्त्रीको भनाइ उद्धृत गर्दै नेता रिजालले भने ।

Published on: 13 March 2019 । Kantipur

Back to list

;