s

शरणार्थी वृद्धवृद्धाको बिजोग

अर्जुन राजवंशी
 
झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविर–२ सेक्टर ‘फोर’ हट नम्बर ४८ का ८४ वर्षीय श्रीनारायण प्रधानको बिहीबार निधन भयो । बिहान पौने ९ बजे निधन भएका उनको शव दिउँसो ३ बजेतिर अन्त्येष्टि गरियो ।
 
४ छोराछोरीका अभिभावक प्रधानको शव घाटसम्म लैजान आफन्त कोही थिएनन् । स्थानीयले ठेलामा राखेर नजिकैको हम्सेदुम्से सामुदायिक वनमा पुर्‍याई अन्त्येष्टि गरिदिए ।
 
६ महिनाअघि विष्णुकुमार घलेको अन्त्येष्टि पनि छिमेकीले नै गरे । दुई छोराछोरीका बुवा घलेको शव अटोरिक्सामा घाट पुर्‍याइएको थियो । उनको निधन हुँदा छोरी अस्ट्रेलियामा तथा छोरा सवारी दुर्घटनामा गम्भीर घाइते भई बिर्तामोडस्थित अस्पतालमा उपचाररत थिए ।
 
शरणार्थीमध्ये घर–परिवारसँग सम्बन्धविच्छेद भएका वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त र एकल महिलाहरू मर्नु न बाँच्नुको दोसाँधमा छन् । निधन भएकाहरूको शव उठाउन आफन्तसम्म साथ छैनन् । अधिकांश परिवारका सदस्य पुनर्वास कार्यक्रमअन्तर्गत पश्चिमा मुलुक गएका छन् । शिविरमै रहेका वृद्ध बुवाआमा बिरामले थलिएका छन् ।
 
श्रीनारायणसँग ८२ वर्षीया श्रीमती सुमती मात्रै थिइन् । उनी पनि दुई वर्षदेखि बिरामी छन् । प्यारालाइसिसका बिरामी श्रीनारायण ६ महिनायता ओछ्यानमा थलिएका थिए । ओछ्यानमै पल्टिरहँदा उनको ढाडमा घाउ भएको थियो । प्रधानदम्पतीका छोराहरू माइला पूर्णबहादुर र कान्छा चकबहादुर जन्मथलो भुटानमै छन् । सन् १९९० तिर भुटान सरकारले लखेटेपछि प्रधानदम्पती एक छोरा र एक छोरीसहित नेपाल आए । पूर्ण र चकबहादुर उतै छुटे । त्यसपछि प्रधान दम्पतीले दुई भाइ छोरालाई कहिल्यै भेट्न पाएनन् । जेठा छोरा चन्द्रबहादुर तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा छन् । छोरी पूर्णिमा क्यानडामा छिन् ।
 
२६ वर्षदेखि झापा र मोरङमा बस्दै आएका भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघको पहलमा विभिन्न आठ देशमा पुनर्वास गराइएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायोग यूएनएचसीआरको तथ्यांक अनुसार १० वर्षमा एक लाख १२ हजार ५ सय ८७ भुटानी शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्ड गएका छन् । तीमध्ये सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ७ सय ९५ जना छन् । पुनर्वासमा गएका शरणार्थीका शिविरमै छाडिएका वृद्ध बुवाआमा अहिले बेवारिसजस्तै बनेका छन् ।
 
पछिल्लो ६ महिनामा एक दर्जनजतिको निधन भइसकेको छ । परिवार साथमा नभएका वृद्धवृद्धाको निधन भए शिविर व्यवस्थापन समिति र छरछिमेकले मिलेर अन्त्येष्टि गरिदिने गरेको पूर्व टिमाई शिविर सचिव युवराज साम्पाङ राईले बताए । बेलडाँगी शिविर सचिव टीकाराम रसाइलीका अनुसार बेलडाँगी र पथरीशनिश्चरेस्थित शिविरमा २ सयभन्दा बढी शरणार्थी वृद्धवृद्धा एक्लै बस्न बाध्य छन् । आफ्नो देश भुटानै फर्कने अडानमा रहेका र पुनर्वासमा जान चाहे पनि प्रक्रिया नमिलेर अड्किएकाहरू शिविरमै बसिरहेका छन् । अधिकांश वृद्धवृद्धा ७० वर्षमाथिका छन् । शरीर चल्नेहरू आफ्ना लागि आफैं खाना पकाउँछन् । पकाउन नसक्नेहरू ओछ्यानमै थलिएका छन् । रेखदेख गर्ने कोही छैन ।
 
बेलडाँगी–२ सेक्टर डी–वान हट नम्बर ८० का ६९ वर्षीय खिलकुमार लिम्बू र ६४ वर्षीया फूलमाया लिम्बूको दैनिकी पनि कष्टकर छ । दुवै बिरामीले थलिएका छन्।
 
Published on: 18 May 2018 | Kantipur

Back to list

;