s

शंकास्पद इरानीलाई फर्काइँदै

शम्भु कट्टेल 
 
इरान नफर्कने अड्डी कसेर हिरासत बसेका इरानी नागरिक अब्दुल लातिफ तासिन सलमानलाई अध्यागमन विभागले उतै फर्काउने तयारी गरेको छ। गृह मन्त्रालयले निष्काशनको निर्णय गरे पनि सलमानले इरानमा आफूलाई कडा सजाय हुन सक्ने भन्दै नफर्काउन आग्रह गर्दै आएका थिए। उनले अहिले पनि इरान फर्कने हवाई टिकट ल्याउन आनाकानी गरिरहेका छन्।
 
गृहले पाँच वर्षका लागि निष्काशन (डिपोर्ट) गर्ने निर्णय गरे पनि ट्राभल डकुमेन्ट नबन्दा उनी अध्यागमन विभागको हिरासतमा छन्। भारतको नयाँदिल्लीस्थित इरानी दूतावासबाट ट्राभल डकुमेन्ट पाएपछि विभागले उनलाई तेहरान फर्काउने प्रक्रिया थालेको हो। यद्यपि, उनले फर्कनका लागि हवाई टिकट विभागलाई उपलब्ध गराएका छैनन्। विभागका निर्देशक शम्भुप्रसाद मरासिनीले हवाई टिकट ल्याउनासाथ उनलाई इरान पठाउने जानकारी दिए। ‘सबै प्रक्रिया पूरा भइसकेको छ। उनले टिकट आफैं ल्याउनुपर्छ', निर्देशक मरासिनीले अन्नपूर्णसँग भने।
 
स्रोतका अनुसार इरान पुगेपछि त्यहाँको कानुनबमोजिम सलमानमाथि छानबिन हुनेछ। नयाँदिल्लीस्थित इरानी दूतावासले पनि सलमानको गतिविधिप्रति चासो व्यक्त गरेको स्रोतले जनाएको छ। उनी मानव तस्करका नाइके भएको आशंका भए पनि बलियो प्रमाण पाउन नसकेको विभागले जनाएको छ।इरानीहरूलाई विभिन्न मुलुकका नक्कली राहदानीमा नेपाल हुँदै युरोप लैजान उनको भूमिका देखिएको अध्यागमन स्रोतको भनाइ छ। आतंकवादी गतिविधिमा संलग्न रहेको अमेरिकी दूतावासको सूचनाका आधारमा गत चैतमा उनी पक्राउ परेका थिए। अनुसन्धानले उनलाई ‘आपराधिक पृष्ठभूमि' भएको व्यक्ति भनी पुष्टि गरेको थियो।
 
अमेरिकी दूतावास, प्रहरीको विशेष ब्युरो र विभागको अनुसन्धानबाट उनी आतंकवादी गतिविधिमा संलग्न भएको पुष्टी नभएपछि उनलाई निष्काशन गर्ने प्रक्रिया अघि बढेको थियो। विभिन्न कागजपत्रमा उनको इरानी नाम हमिद रहेको छ। उनले नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)मा शरणार्थीका लागि आवेदन दिने तयारी गरेका थिए। तर, यूएनएचसीआरले आपराधिक पृष्ठभूमिका व्यक्तिको आवेदन नलिने जनाएपछि उनीसँग इरान फर्कनुको विकल्प नभएको हो।
 
उनले हराएको अमेरिकी राहदानी प्रयोग गर्दै आएका थिए । अमेरिकी दूतावासले उक्त राहदानी ट्र्याकिङ गर्दा उनी पक्राउ परेका हुन्। काठमाडौंबाट नयाँदिल्ली जाने क्रममा भारतीय अध्यागमनले उनलाई फिर्ता गरेपछि नेपालको अध्यामगनले उनीमाथि थप अनुसन्धान गरेको थियो। जाली राहदानीअन्तर्गत चलाएको मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको कैद भुक्तानी गरेपछि अध्यागमनले गृहलाई निष्काशनका लागि प्रस्ताव गरेको थियो। पक्राउलगत्तै अमेरिकी दूतावासका अधिकारीले उनीसँग बयान लिएका थिए। त्यसपछि मात्र प्रहरीको विशेष ब्युरो र विभागले सलमानको बयान लिएको हो।
  
Published on: 1 September 2017 | Annapurna Post

Back to list

;