s

साढे २ महिनाअघि मलेसियाबाट आएका थिए रुकुमपूर्वका संक्रमित

रुकुमपूर्वका एक संक्रमित साढे दुई महिना अगाडि मलेसियाबाट आएको खुल्न आएको छ। मलेसियाबाट फागुन अन्तिममा काठमाडौं आएका उनी जिल्लामा चैत ५ गते र घर चैत ६ गते पुगेको खुलेको हो। 

जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का २३ वर्षीय उनी चैत ६ गते घर पुग्दा क्वारेन्टिन निर्माण गरिएकै थिएन। चैत ११ गतेदेखि मात्रै नेपालमा लकडाउन सुरु भयो।

त्यसैले त्यसअघि ती युवा सोझै घरमा गएर बसे। लकडाउन सुरु भएपछि फेरि विदेशबाट आएकाहरुको खोजी सुरु भयो। त्यसपछि जिल्ला स्वास्थ्यको टिमले उनलाई १४ दिन होम क्वारेन्टिनमा बसाल्यो।

जिल्ला फोकल पर्सन देविलाल पौडेलका अनुसार उनको वैशाख १२ गते पहिलो पटक आरडिटी टेष्ट गरिएको हो। त्यसमा उनको रिपोर्ट नेगेटिभ देखियो।

तर, यो बीचमा ती युवामा सामान्य रुघाखोकी र ज्वरोका लक्षणहरु देखिए। उनको फेरि आशंका लागेर जेठ ८ गते स्वाब संकलन भयो। बुधबार उनीसहित रुकुमका तीन जनाको रिपोर्ट पोजेटिभ देखियो।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पहिलो पटक रुकुम पूर्वमा तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

सोही ठाउँकै १५ वर्षीया किशोरी र १८ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भयो। उनीहरु नाताले दाइबहिनी हुन्। पूथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले दाजुबहिनी वैशाख २८ गते बारा जिल्लाबाट आएको बताए। 

उनीहरु बारा जिल्लाको इट्टा भट्टामा मजदुरी गरेर फर्किएका हुन्। उनीहरु दुबै दाजु बहिनीलाई आउनासाथ घर जान नदिएर सोझै राङ्सीस्थित शिद्धमण्डी माविको क्वारेन्टिनमा लगेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरीले बताए। 

गिरीले सेतोपाटीसँग भने ‘उहाँहरु समुदाय र घरमा जान पाउनु भएको छैन।’

क्वारेन्टिनमा बसेको १६ दिनपछि ती दाजु बहिनीको जेठ ८ गते जिल्ला स्वास्थ्यको टोली गएर स्वाब संकलन गरी परीक्षणको लागि दाङ पठाएको गिरीले बताए।

जिल्लामा पहिलो पटक फेला परेका ती संक्रमितलाई विहीबार मात्रै जिल्ला अस्पताल रुकुमकोटको आइसोलेसनमा लगिने भएको छ। बुधवार बेलुका भइसकेको र पानी समेत परिरहेको हुँदा बिहीबार मात्रै उनीहरुलाई आइसोलेसनमा लगेर राखिने जिल्ला फोकल पर्सन देविलाल पौडेलले सेतोपाटीलाई बताए। जहाँ जम्मा ६ वटा मात्रै आइसोलेसन बेडहरु निर्माण गरिएका छन्।

Published on: 27 May 2020 | Setopati

Link

Back to list

;