s

शव ल्याउन हार–गुहार

ऋण काढेर विदेश पठाएको छोराको एका–एक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ ।
 
तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएपछि परिवारले शव ल्याउन नपाउँदा तनावमा परेका हुन् । शेरबहादुरले भने, तीन वर्षअघि पैसा कमाउन गएको छोरा अढाई वर्ष काम गरेर तीन महिनाको बिदा लिएर घर फर्किएको थियो, त्यसपछि पुनः सोही कम्पनीमा काम गर्न फर्कियो । एक महिनापछि घर फिर्ता हुँदैछु भनेर खबर गरेको थियो । काममा गएको एक वर्ष नबित्दै मृत्युको खबर पाइयो ।
 
बस्दै आएको कोठामा आत्महत्या गरेको भनेर गत साउन २९ गते खबर पाइएपछि शव स्वदेश ल्याउनका लागि विभिन्न निकायमा धाए पनि शव ल्याउन नसकेको उनले बताए । शव ल्याउनका लागि साउदी अरबस्थित दूतावास, काउन्सिलर विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयमा निवेदन दिनाका साथै प्रधानमन्त्री, मन्त्री र सांसद सबैलाई भेटेर गुहार गर्दा आश्वासन मात्रै पाइएको मृतकका दाजु नाता पर्ने ईश्वर सुनारले बताए । राजदूतावासले शव स्वदेश ल्याउनका लागि पहल भइरहेको भने पनि अहिलेसम्म पाउन नसकेको उनले बताए । घरका सबै जनाले मृतकको मुख हेर्ने भन्छन् उनले भने, शव ल्याउन निकै कसरत गरेपनि केही सीप लागेको छैन । घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा निकै तनावमा परिवार रहेको उनले बताए । सबै क्षेत्रबाट आश्वासन मात्रै पाइने शव ल्याउनका लागि कुनै निकायले पहल नगरिदिँदा निकै मर्कामा परेको उनले बताए ।
 
रोजगारदाता कम्पनीले नौ महिनाको तलबसमेत परिवारलाई उपलब्ध गराएको छैन । वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारको कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ । दुई छोरी, श्रीमती, आमाबुबा र दुई भाइ मृतककै कमाईमा निर्भर रहेका थिए । मृतकका परिवारले शव स्वदेश ल्याउनका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।
 
Published on: 2 February 2018 | Madhyanha

Back to list

;