s

शव बुझ्न विमानस्थलमा छुट्टै कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगार सहायताको छुट्टै कक्ष सञ्चालनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पहलमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरूको शव बुझ्न पीडित परिवारलाई सहज हुने गरी छुट्टै कक्ष सञ्चालनमा ल्याइएको हो ।
 
३ वैशाखमा बसेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले १० दिनभित्र वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरूको शव बुझ्ने कार्य सहज र व्यवस्थित बनाउन छुट्टै कक्ष सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
 
आइतबार दिउँसो ३ बजेदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको बोर्डका कार्यकारी निर्देश रघुराज काफ्लेले जानकारी दिए । त्यसबाहेक वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृति पुष्टि गर्न छुट्टै डेस्क यसअघिदेखि नै सञ्चालनमा छ ।
 
यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारहरूको शव यात्रु आवतजावत हुने स्थानमै बुझ्नुपर्ने बाध्यता थियो । ‘बोर्डबाट निःशुल्क उपलब्ध गराइँदै आएको शवबाहनको सुविधा सोही कक्षबाटै पाइनेछ,’ उनले भने, ‘त्यसका लागि बोर्डको कार्यालयसम्म धाउनुपर्दैन ।’
 
सहायता कक्ष सञ्चालनका लागि हाललाई बोर्डबाट एकजना सुब्बा तहको कर्मचारी खटाइएको छ । आवश्यकता हेरेर थप कर्मचारीको व्यवस्थापनसमेत गरिने बोर्डले जनाएको छ ।
 
Published on: 7 May 2018 | Naya Patrika

Back to list

;