s

सेवासुविधा नबढाए भदौ २२ गतेदेखि पेट्रोल पम्प बन्द गर्ने मजदुरको चेतावनी

अखिल नेपाल पेट्रोलियम मजदुर संघले आफ्ना माग पुरा नभए भदौ २२ गतेदेखि पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ।

साउन १ देखि लागू हुनेगरी श्रमिकको खाइपाई आएको तलवमा ३८ प्रतिशत वृद्धि गरी बैंकहरुमार्फत भुक्तानी गर्न सरकारले निर्देशन दिइसके पनि लागू नभएको भन्दै मजदुर संघले विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ।

पेट्रोलियम डिलर्स एसोसिएसनलाई पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकको श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रदान गरेका सेवा सुविधा नपाएको भन्दै पटक पटक पत्राचार गरिए पनि एसोसिएसनले वास्ता नगरेको मजदुर संघले जनाएको छ।

संघले भदौ ९ गतेदेखि संघर्ष थाल्नेगरी कार्यक्रमहरु सार्वजनिक गरेको छ। भदौ १५ गतेसम्म पेट्रोल पम्पहरुमा श्रम ऐनका सेवा सुविधाबारे जानकारी गराउने, १७ गते पम्पहरुमा कालो झण्डा राखी विरोध जनाउने, १८ गते बागमती पेट्रोलियम डिलर्स एसोसिएसनमा तालाबन्दी गर्ने, १९ गते आयल निगमको थानकोट डिपोमा एक घण्टा लोडअनलोड बन्द गर्ने तथा २२ गते न्यूनतम सेवा सुविधा कायम नगर्ने सबै पम्पहरुबाट आपूर्ति बन्द गर्ने मजदुरहरुको चेतावनी छ।

मजदुर संघले पेट्रोल पम्पहरु सामाजिक सुरक्ष कोषमा सूचीकृत हुनुपर्ने, सम्झौता गरेपछि मात्रै मजदुरलाई काममा लगाउनुपर्ने, काम सुरु भएदेखि नै १० प्रतिशत रकम सन्चयकोषमा जम्मा हुनुपर्ने, साउन १ देखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ कायम हुनुपर्ने लगायतका माग अघि सार्दै आएको छ।

त्यस्तै दैनिक ८ घण्टा बढी काम लगाउँदा ओभरटाइमको सुविधा हुनुपर्ने, चाडपर्व वापत खाइपाई आएको तलवमा १ महिनाको बराबर थप सुविधा पाउनुपर्ने माग मजदुर संघले गरेको छ।

Published on: 27 August 2019 | Setopati

Back to list

;