s

सेसेल्ससँग श्रम सम्झौता गरिने

कान्तिपुर संवाददाता 

काठमाडौँ — पूर्वी-अफ्रिकाको पर्यटकीय मुलुक सेसेल्ससँग नेपालले श्रम सम्झौता गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेसेल्स भ्रमणका क्रममा माहे आइल्यान्डमा आयोजित समारोहमा श्रम सम्झौताबारे जानकारी दिएका हुन् ।

टापुहरूले भरिएको देश सेसेल्समा होटल, रेस्टुरा, आतिथ्य सेवासहितका काममा १५ सयभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले नेपाल र सेसेल्सबीच द्वैपक्षीय श्रम सम्झौता गर्ने क्रममा सरकारी पदाधिकारीहरूसँग सम्वाद जारी रहेको जानकारी दिएका छन् । सेसेल्समा अवैधानिक तवरमा नेपाली श्रमिकलाई रोजगारीमा पठाउन थालिएको गिरोहबारे पनि आवश्यक निगरानी तथा कारबाहीका लागि मन्त्री श्रेष्ठले सेसेल्सस्थित गैरआवासीय नेपाली समुदायसाग परामर्श गरेका थिए । 

‘अबदेखि सेसेल्समा नेपाली श्रमिकसम्बद्ध कुनै पनि समस्या भएमा गैरआवासीय नेपाली संगठनमार्फत आधिकारिक गुनासो लिएर आएमा श्रम मन्त्रालयले सक्दो सहयोग गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । 

भ्रमण दलमा श्रम सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोख्रेल, उपसचिव डा. थानेश्वर भुसाल र नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदूत नरेश दाससहितको उपस्थिति रहेको थियो । सेसेल्सको माहे आइल्यान्डस्थित रोचे प्रशासनिक भवनमा सम्पन्न कार्यक्रममा एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले सेसेल्सको पर्यटकीय गन्तव्यमा दक्ष र सक्षम नेपाली श्रमिकको अपरिहार्यता रहेको जनाएका थिए ।

Published on: 23 March 2022 | Kantipur

Link

Back to list

;