s

सेप्टेम्बर ३० देखि अमेरिकामा नेपालीले मेला लगाउँदै

काठमाडौं: वर्ल्ड बिजनेस म्यानेजमेन्टको आयोजनामा अमेरिकाको न्युयोर्कमा आगामी असोजमा नेपाली व्यापार मेला हुने भएको छ। सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म नेपाल एक्जिबिसन एन्ड इन्टरनेसनल ट्रेड सो हुन लागेको हो। यसको बुकिङ खुला भएको आयोजकले जनाएको छ।
 
मेलाको मुख्य उद्देश्य नेपाल र अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपाल तथा विश्वभरि छरिएर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई व्यावसायिक प्लेटफर्म दिनु रहेको छ । यो व्यापारिक मेलामा विश्वभरिबाट तीन सय ५० भन्दा बढी उद्योगी तथा व्यवसायी संलग्न हुने जनाइएको छ।
 
यो मेलाको अर्को उद्देश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पुर्याउने लक्ष्य भएकाले ७० प्रतिशतभन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट भाग लिनेछन् भने बाँकी ३० प्रतिशत अन्यत्रका सहभागी हुनेछन्।अमेरिकाले नेपाललाई अहिले विभिन्न वस्तुमा भन्सार छुट दिने निर्णय गरेको छ।
 
नेपालमा उत्पादन भएका छालाका वस्तु, स्कुले बालबालिका तथा व्यक्तिका लागि प्रयोग हुने कपडा, झोला, जुत्ता, चप्पल, मफलर, टोपी, टेक्सटाइल तथा कार्पेट, हस्तकलासम्बन्धी सम्पूर्ण सामग्रीमा अमेरिकी सरकारले भन्सार छुट दिएको छ। नेपालको निर्यात व्यापार र विश्व बजारमा नेपाली वस्तुको माग भएअनुरूप अमेरिकाका विभिन्न सहर तथा विश्वका अन्य देशमा पनि अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने योजना छ।
 
त्यसैगरी विदेशी खरिदकर्तालाई नेपालमा बोलाएर बी टु बी नेटवर्कको आयोजना गरी नेपालका उद्यमी व्यवसायीलाई अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको अवसर जुटाउन मद्दत पुर्‍याउने योजना आयोजकको छ।व्यापारिक मेलालाई अमेरिकास्थित विभिन्न नेपाली सामाजिक संघसंस्था, विदेशी संघसंस्था तथा अमेरिकी सरकारी निकायसँग पनि सहयोग लिएर सफल बनाउने आयोजकले जनाएको छ।
 
मेलाको अफिसियल मिडिया पार्टनरमा अन्नपूर्ण पोस्ट, एभिन्युज टीभी तथा रेडियो रियाज रहेका छन्। मेलामा भाग लिन चाहने व्यवसायी संस्थाले तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने आयोजकले जनाएको छ।
 
यसका लागि कम्तीमा दुई वर्ष उत्पादन गरेको, खुद्रा वा होलसेल व्यापारको इतिहास भएको, आर्थिक रूपमा सक्षम भएको, सरकारी कर तिरेको, मेलामा भाग लिई अनुभव हासिल गरेको, भ्रमण इतिहास, उत्पादनको प्रकृति हेरेर यसमा भाग लिन सक्ने वा नसक्ने भन्ने निर्णय हुने आयोजकले जनाएको छ।
 
मेलाबारे जानकारी दिन राजधानीमा आइतबार आयोजित कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेकाले त्यसका लागि स्वदेशी कच्चा पदार्थ प्रयोग गरी सामान विदेशमा निर्यात गर्न आवश्यक भएको बताए। मेलाले यसमा सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे। 
 
Published on:  4 April 2016 | Annapurna Post

Back to list

;