s

सेनाले चिप्लेभिरका मृतक परिवारलाई दश लाख दिने

रामचन्द्र न्यौपाने

ढुंगाले लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश–दश लाख क्षतिपूर्ति दिने

जाजरकोट–डोल्पा सडकको खदाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश–दश लाख क्षतिपूर्ति दिने भएको छ ।
 
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा मंगलबार ढुंगा लागेर रुकुमको आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र वडा नं. १२ का अमृत रानामगरको मृत्यु भएको थियो । त्यस्तै, वडा नं. ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका थिए । जाजरकोट–डोल्पा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाको टोलीसँगै सर्वसाधारण पनि काम गर्दै आएका छन् ।
 
जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले मृतक मजदुरका परिवारलाई दश–दश लाख रुपैपाँ सहयोग गरिने बताए । ‘सडक निर्माणमा संलग्न श्रमिक तथा गैरश्रमिक व्यक्तिको पाँचदेखि दश लाखको बिमाको व्यवस्था छ,’ कर्णेल पहाडीले भने, ‘मृतक दुवैजनाको परिवारलाई भने दश–दश लाख दिने पहल गरिसकेका छौँ ।’
 
उनीहरूको नलगाड नगरपालिकास्थित दल्ली अस्पतालमा शव परीक्षण गरेर मंगलबार नै आफन्तलाई बुझाइएको थियो । दुवैजनाको बुधबार दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् ।
 
चिप्लेभिरमा काम जारी
 
खदाङ–त्रिपुराकोटस्थित चिप्लेभिरखण्डमा काम जारी रहेको सेनाले जनाएको छ । सो खण्डको तीन किलोमिटर क्षेत्रमा पहरा र कडा चट्टान भएकाले कठिनाइ भएको जनाएको छ । सडक निर्माणमा संलग्न सेना, मजदुर तथा पैदल यात्रुको विशेष सुरक्षाका लागि सतर्कता अपनाउन सचेत गराइएको सेनाले जनाएको छ ।
 
किरिया खर्च ३५ हजार
 
चिप्लेभिरमा मृत्यु भएका दुवै मजदुरका परिवारलाई नेपाली सेनाले किरिया खर्च दिएको छ । दाहसंस्कार गर्न र किरियाखर्च गर्न सहयोग पुगोस् भनेर ३५–३५ हजार रुपैयाँ दिएको कर्णेल विश्वबध्नु पहाडीले बताए ।
 
घाइतेको उपचार हुँदै
 
चिप्लेभिरमा ढुंगा लागेर घाइते भएका रुकुमको आठबिसकोट नगरपालिका–९ का शक्तिबहादुर शाहीको रुकुम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य बन्दै गएको परिवारजनले बताएका छन् । उपचारमा लाग्ने सबै खर्च पनि व्यहोर्ने सेनाले जनाएको छ ।
 
Published on: 10 May 2018 | Naya Patrika

Back to list

;