s

सेल्टरमा बस्नेहरू

ठूलो दुःख गरेर, ऋण काढेर खाडी आइपुगेका युवाहरू आएको केही महिनामै काम गर्न नसकेर दूतावासको शरणमा आइपुग्ने गरेका छन् । यीमध्ये केहीले त काम गरेको तलब पनि पाएका हुँदैनन् । घर जाने प्रतीक्षामा दूतावासमा बसिरहेका केही युवाहरूको कथा । 

एक बिहान कमरिया गाविस, रुपन्द्रेहीका सारजउद्दिन सामतलाई बीचमा राखेर उनका साथीहरू शरीरमा देखिएका खतहरूको गन्ती गर्दै थिए । निकै बेरपछि शरीरमा एक सय ४५ वटा खत भेटेछन् । त्यति पुगेपछि थप गन्ती गर्न छाडे । 'भनेपछि मेरो शरीरमा एक सय ४५ भन्दा बढी ब्लेडले चिरेछन्,'  सामतले भने, 'मैले त कहिल्यै पनि गनेको थिइनँ ।' सामत कतारस्थित नेपाली दूतावासले आपद्विपद्मा परेका नेपाली कामदारलाई राख्ने सेल्टरमा छन् । जहाँ एउटा सानो कोठा छुट्याइएको छ । त्यसमा मुस्किलले चारजना अट्छन् । महिला आएमा त्योे कोठा महिलाको हुन्छ । नत्र पुरुषको कब्जामा जान्छ । यतिखेर सामतसहित ३२ जना पुरुष कामदारले एक छाक खाँदै दूतावासको भान्सा, बरन्डामा ४० रात कटाइसकेका छन् । त्यही पीडित समूहले समय कटाउन उनको शरीरभर देखिएको खतहरू गनेका हुन् । 

६२/६३ सालतिर गाउँको भट्टीमा मदिरापानको विषयमा माओवादी कार्यकर्तासँग विवाद बढ्दाखेरीको परिणाम रहेछ, खत प्रकरण । 'म मुसलमानको छोरो भए पनि भट्टीमा थिएँ । दुईजना केटाहरूले उल्टासुल्टा कुरा गर्न थालेपछि पिटिदियौं,' उनले भने, 'भोलिपल्ट १५ जना केटाहरू आएर मलाई पक्राउ गरे । ती केटाहरू माओवादी रहेछन् । जंगलमा लगेर १५ जनैले ब्लेडले छाती, हात र पाखुरामा खाली ठाउँ नराख्ने गरी काट्न थाले । चर्किरहेको घाउमा नुन दलिदिएर हिँडे ।' त्यसपछि उनी पागल जसरी चिच्चाउन थाले । गाउँलेले आएर बचाए । औषधि उपचारका लागि स्थानीय डाक्टरलाई देखाए । डाक्टर डराएर उपचार गर्न मानेनन् । गाउँलेले जिम्मा लिएपछि मलमपट्टी भयो । तीन महिनासम्म अस्पताल बसे । 'समयमा उपचार नभएर शरीर पूरै पाकेर गन्याएको थियो । घरमा मैले खाने थाल छुट्टै थियो,' उनले भने, 'गाउँलेले सय/पचास उठाएर उपचार गर्न पठाए । एक वर्षसम्म काम गर्न नसकेपछि घरमै चामल पुर्‍याउन आउँथे । त्यसैबाट गुजारा चल्यो ।'

३२ वषर्ीय सामतका तीन छोरा र एक छोरी छन् । सबभन्दा ठूलो छोरा १२ वर्षको सानी छोरी ३ वर्षकी । आर्थिक विपन्नताले गर्दा उनले कसैलाई पढाउन सकेका छैनन् । 'राम्रो कम्पनीमा काम गर्छु । दुई/दुई वर्षमा छुट्टीमा घर जान्छु । छोराछोरीलाई पढाउँछु,' भन्दै कतार आए । आउँदा ९० हजार स्थानीय गाउँले एजेन्टलाई बुझाए । त्यसका लागि भैंसी र खसी ३५ हजारमा बेचे । मामा र काकासँग क्रमशः २० हजार र १० हजार सापटी मागे । पैसा नपुगेपछि आफ्नै एक बहिनीसँग भएको १४ इन्चको कलर टीभी र डीभीडी मागे । 'ज्वाइँ अहिले मलाई सहयोग गर । विदेश गएर भिसा झार्छु । नयाँ टीभी किनिदिन्छु । तिमीलाई पनि बोलाउँछु,' उनले भने, 'बहिनी ज्वाइँले दिएको टीभी ५ हजार र डीभीडी २५ सयमा बिक्री गरें ।' 

विदेश जाने बेला कोही साथीले जुत्ता किनिदिए, कसैले ब्याग किनिदिए त कसैले पाइन्ट । त्यसरी कतार छिरेका उनी यतिखेर ९ महिना नपुग्दै बिचल्ली भएर दूतावासको आश्रयमा छन् । काम गरेको ८ महिनामध्ये ५ महिनाको तलब श्रम अदालतमा लडेर ५४ सय रियाल पाए । त्यो रकम कतारमा खाँदा, परिवार पाल्दा र केही ऋण तिर्दैमा सकियो । पूरा तलब माग्न जाँदा कपिलले पिट्छ । प्रहरीकोमा जाँदा कपिलमाथि केस चला भन्छ । उनी केस चलाउने पक्षमा छैनन् । उनी सीआईडीमा गएको भन्दै कपिल र मुदिरले खोज्दै हिँडेपछि भागेर दूतावास आइपुगेका हुन् । 

उनको अनुभवमा पैसा कमाउने सम्भावनाहरू नेपालमै छन् । 'कसैको घरमा इँटा बोक्ने, धान काट्ने गरेमा पनि दुई तीन सय हात पर्छ,' उनले भने, 'कामै भएन भने पनि खोलामा गएर बालुवा चाल्यो र रिक्सा चलाए पनि एक हजार कमाइन्छ ।' यतिखेर उनी बहिनी ज्वाइँलाई दिएको वचन पूरा गर्न नसकेर निकै भावुक छन् । बहिनीलाई मानिसहरूले तेरो दाइले टीभी/डीभीडी खाइदियो भनेर सुनाउँछन् । उनी चाँडै टीभी किनेर लैजान चाहन्छन् । टिकट र एक्जिट पेपर पाउनासाथ सेल्टरमा झुन्डाइएको झोला भिरेर स्वदेश फिर्ने पर्खाइमा बसिरहेका उनलाई घरबाट आएको अर्को फोनले सताएको छ, 'लडेर छोरीको हात भाँचिएको छ । उपचार गर्न पैसा पठाइदिनुपर्‍यो ।'  

मिान्छेलाई तनाव परे कपाल फुल्छ भन्थे, धारापानी-१, धनुषाका रामकुमार मण्डलको त कपालै फुलेन मात्रै पूरै खुइलियो । २७ वषर्ीय मण्डललाई अहिले पर्नुसम्मको चिन्ता परेको छ । 'म एकदमै बूढो देखिएँ,' उनले भने, 'अब मलाई मेरो परिवारले पनि चिन्दैनन् ।' उनी कतार आएको १५ दिनदेखि कपाल फुल्न थालेको रहेछ । अहिले पूरै खुइलिएको छ । टाउको, आँखीभुई, जुंगा, छाती कतै रौं छैन । काठमाडौंस्थित मार्वलस् म्यानपावरलाई ८० हजार तिरेर सात महिनाअघि आएका मण्डल पनि दूतावासको सेल्टरमा आइपुगेका थिए । उनले दूतावासलाई दिएको निवेदनमा आफू पीडित भएर पाएको समस्यामा एउटा कारण 'कपाल र्झनु' पनि राखेका छन् । हातमा एक रियाल पनि नपरेकाले कपला झर्नुको विषय जान्न डाक्टरकोमा पनि जान पाएका छैनन् । 'सात महिनादेखि साथीभाइसँग माग्दै गुजारा चलाइरहेको छु । कम्पनीको मुदिर सधैं काम गर भन्छ, तर खाने पैसा दिँदैन,' उनले भने । 'अरू साथीभाइसँग मागेर खाएपछि उसकोमा काम गर्नु जानैपर्ने,' उनले भने, 'यस्तो भिखारी कम्पनीले मेरो कपाल पनि खाइदियो ।' 

घिर गाउँमा कैंची चलाउने जनकपुरका ४० वषर्ीय रामनाथ ठाकुर सन् २०१० जुन १ मा कतार आएदेखि बेल्चा चलाउन थाले । उनी यता ६ सय तलब र खाना दुई सय गरी आठ सय कमाउँथे । त्यही पैसा पनि एक वर्षको नौ हजार ६ सय रियाल नपाएपछि गत वर्षको कात्तिकबाट काममा जान छाडे । तलब दिलाइदिन १६ पटक नेपाली दूतावास धाए । दूतावासबाट पार नलगेपछि श्रम अदालत हँुदै उच्च अदालत पुगे । उच्च अदालतमा गत जनवरीमा मुद्दा दर्ता गराए । उच्च अदालतले एकपछि अर्को तारिख थप्दै गएपछि उनी हार मानेर दूतावासकै सेल्टरमा आइपुगेका छन् । 'मेरो अर्को तारिख अब सेटेम्बर १७ मा छ,' चार बच्चाका बाबु ठाकुरले भने, 'कति दिन साथीभाइसँग मागेर खानु ? अब नसक्ने भएपछि तलबको माया मारिदिएको छु । मलाई छिटोभन्दा छिटो घर पठाइदिन अनुरोध गरेको छु ।'  

Published on: 7 September 2013 | Kantipur

Back to list

;