s

सवा ५७ अर्ब शोधनान्तर घाटा

कृष्ण रिजाल

बढ्दो उपभोग प्रवृत्तिले वस्तु तथा सेवा आयात उच्चदरमा बढाएपछि मुलुकको शोधनान्तर अवस्था घाटामा गएको छ । वस्तु तथा सेवाको कारोबार र पुँजी ट्रान्सफरमा आयभन्दा व्यय बढी हुँदा नेपालको चालू खाता र समग्र शोधनान्तर अवस्था घाटामा गएको हो । 
 
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ५० करोड ३६ लाखले घाटामा रहेको केन्द्र बैंकले जनाएको छ ।  
 
त्यस्तै, समीक्षा अवधिमा मुलुकको चालू खाता ८८ अर्ब ६४ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा नेपालको चालू खाता घाटा ७७ करोड ४१ लाख पुगेको छ ।
 
शोधनान्तर घाटा बढ्दै गएसँगै कुल विदेशी विनिमय सञ्चितिसमेत घट्दै गएको छ । गत असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेको थियो । कात्तिक मसान्तसम्ममा सञ्चिति १.८ प्रतिशतले कमी भई १० खर्ब ८२ अर्ब ९१ करोडमा झरेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड डलरबाट ६.५ प्रतिशतले कमी आई ९ अर्ब ४३ करोड डलरमा झरेको केन्द्र बैंकले जनाएको छ ।
 
बाह्य क्षेत्र चिन्ताजनक छैन, तर संयमित हुनुपर्छ 
गुणाकर भट्ट
कार्यकारी निर्देशक
नेपाल राष्ट्र बैंक
 
उच्च आयातका कारण हाम्रो शोधनान्तर स्थिति घाटामा गएको हो । अहिले बैंकको कर्जा चालू पुँजी, अधिविकर्ष, हायरपर्चेज र रियलस्टेटमा धेरै छ । यी क्षेत्रमा कर्जा केन्द्रित हुँदा उपभोग्य वस्तुको आयात तथा अनुत्पादक क्षेत्रको लगानी बढेको छ । यसले बाह्य क्षेत्र असन्तुलित देखएको हो । यसर्थ, कर्जा विस्तारमार्फत उपभोग्य वस्तुको आयातलाई प्रोत्साहित गराउनुहुँदैन । अर्कोतर्फ आर्थिक गतिविधि बढेको छ, पुँजीगत वस्तुको आयात पनि धेरै छ । उच्च आर्थिक वृद्धिका लागि पुँजी निर्माणको काम पनि गरिरहेको छ । अहिले शोधनान्तर घाटा देखिए पनि यो बिस्तारै सकारात्मक देखिनेछ । यसर्थ, बाह्य क्षेत्र चिन्ताजनक छैन, तर संयमितचाहिँ हुनुपर्छ । 
 
विदेशी लगानी आप्रवाह घट्यो
 
चार महिनामा नेपालमा पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहसमेत घटेको छ । यस अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब २२ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २ अर्ब २० करोड रुपैयाँले कमी हो । त्यस्तै, चार महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५ अर्ब २२ करोड रुपैयाँले कमी हो ।
 
रेमिट्यान्स आय साढे ३६ प्रतिशतले बढ्यो
 
मुलुकको समग्र बाह्य क्षेत्र कमजोर देखिए पनि रेमिट्यान्स आय भने उच्चदरमा बढेको छ । केन्द्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालमा ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.४ प्रतिशतले बढी हो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स आय बढे पनि सोही अवधिमा अन्ति श्रम स्वीकृति लिएर बिदेसिने नेपालको संख्या भने २७.७ प्रतिशतले घटेको छ । यस अवधिमा ९० हजार नेपालीले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
 
वस्तु मात्रै होइन सेवामा पनि घाटा
 
समीक्षा अवधिमा नेपालले वस्तु मात्रै होइन, सेवाको कारोबारमा समेत घाटा व्यहोरेको छ । केन्द्र बैंकका अनुसार चार महिनामा नेपालले ४ खर्ब ८३ अर्बको वस्तु आयात गरेको छ । जबकि निर्यात भने २९ अर्ब २८ करोडको मात्रै भएको छ । यसबाट नेपालको वस्तु व्यापार घाटा ४ खर्ब ५४ अर्ब पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो । त्यस्तै, यो चार महिनामा खुद सेवा आय १३ अर्ब १६ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३ अर्ब १ करोडले घाटामा थियो ।
 
Published: 25 December 2018 | Naya Patrika

Back to list

;