s

साउन लागेपछि खाली हुँदै गाउँ

बाजुरा, साउन ४ गते । बाजुरामा साउन लागेपछि अधिकांश गाउँ खाली हुन थालेका छन् । खेती लगाएर गाउँका सबै युवा रोजगारीका लागि धमाधम भारत जानथालेपछि साउनमा अधिकांश गाउँबस्ती दिनानुदिन खाली हुँदैगएका हुन् ।

बूढीगङ्गा नगरपालिका –१ डुँग्रीका स्थानीय युवा रवीन्द्र नेपालीले, भारतमै रोजगारी गरेर गाउँमा परिवार पाल्नेगरेको बताउनुभयो । उहाँ गत जेठमा मात्र असारे खेती लगाउन घर आउनुभएको हो । अहिले असारे खेती सकिएपछि काम गर्नकै लागि भारत जान थालेको बताउनुभयो ।

यता केही रोजगारी मिल्दैन । गाउँमा केही सानो व्यवसाय गरौँ भने पनि आफूसँग आयस्रोत छैन । गाउँमा बसेर केही व्यवसाय गरौँ भने पनि आफूसँग अन्य कुनै उपाय छैन । घरमा व्यरोजगार बस्नुभन्दा असारेखेती लगाएर कामकै लागि भारत जान थालेको बताउनुभयो ।

जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, बडिमालिका, गौमुल बूढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका अधिकांश युवायुवती कामको खोजी गर्न भारत जान थालेका छन् ।

यो महिनामात्र बाजुराको, बूढीगङ्गा नगरपालिका डुग्री, नडाग, अम्कोट बडिमालिका लगायतबाट झण्डै २५० बढी युवा भारतको सिम्लामा रोजगारीको खोजीमा गएको नेपालीले बताउनुभयो ।

साउनको दोस्रो साताबाट स्याउ टिप्ने काम मिल्ने भएकाले त्यही कामका लागि भारतको सिम्लामा जान थालेको बडिमालिका नगरपालिका –६ मनाका बलबहादुर साउदले बताउनुभयो ।

गाउँमा रोजगारी नमिलेपछि ती युवाहरूले कामकै खोजीका लागि यतिबेला भारतका विभिन्न ठाउँमा भौँतारिनुपरेको बूढीगङ्गा नगरपालिका स्थानीय भरतबहादुर रावतले बताउनुभयो ।

आर्थिक वर्ष २०८०–८१ मा गाउँका बेरोजगारलाई रोजगार दिनेगरी प्रत्येक वडामा कृषि र पुशफर्म सञ्चालन गर्ने बूढीगङ्गा नगरपालिका –१ का वडा अध्यक्ष रणबहादुर थापाले बताउनुभयो । उहाँले यो कार्यक्रमले एक वर्षमा झण्डै सय जनाले गाउँमै रोजगार पाउनसक्ने बताउनुभयो ।

Published on: 21 July 2023 | Gorkhapatra

Link

Back to list

;