s

साउदीस्थित अमेजनका गोदाममा काम गर्ने आप्रवासीमाथि शोषण

साउदी अरेबियास्थित अमेजनका गोदामहरूमा काम गर्ने आप्रवासी श्रमिकहरू अत्यन्तै दयनीय अवस्थामा काम गरिरहेको पाइएको छ।

उनीहरूलाई भर्ना गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले पारिश्रमिकमा ठगी गर्ने, अत्यन्तै नराम्रो अवस्थामा राख्ने पाइएको एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनले देखाएको हो।

आफूहरूलाई काम लगाएर बिना कारण ठेकेदारहरूले तलब र खाना भत्ताको केही अंश आफूहरूसँग राखेको श्रमिकहरूले बताएका छन्। त्यस्तै, ओभरटाइम काम लगाएर पारिश्रमिक भने थोरै मात्रै दिइएको उनीहरूको भनाइ छ।

गोदाममा काम गर्ने श्रमिकहरूले क्षमताभन्दा बढीका गह्रौ सामग्री उचाल्नुपर्ने, ज्यादै कष्टकर काम गर्नुपर्ने देखिएको एम्नेस्टीले बताएको छ।

'एक श्रमिकको काम गर्दागर्दै हातमा समस्या देखिएपछि चिकित्सकले एक महिनाका लागि आराम गर्न सल्लाह दिएका रहेछन्। आपूर्ति कम्पनीले बिरामी बिदाको तलब नदिने भएकोले ती श्रमिक दुई हप्ता मात्रै आराम गरेर काम सुरू गर्न बाध्य भएछन्,' एम्नेस्टीले भनेको छ।

त्यहाँ पुगेका अधिकांश श्रमिकहरूले श्रम आपूर्ति कम्पनीहरूसँग दुई वर्षको करारमा हस्ताक्षर गरेका थिए। एक वर्ष नपुग्दै सुरूको काम सकियो। त्यसपछि आपूर्ति कम्पनीहरूले उनीहरूलाई अझ खराब बासस्थानमा सारे। तलब पनि दिएनन्। खाना भत्ता दिनसमेत बन्द गरे। श्रमिकहरूले रोटी, नुन खाएर र पानी पिएर बाँचेको बताएका छन्।

किरण नाम गरेका एकजना श्रमिकले भने, 'बासस्थान एकदमै फोहोर थियो। वातावरणअनुकूल अवस्था थिएन, पंखा थिएन। तापक्रम ५० डिग्री सेल्सियस थियो।'

उनका अनुसार त्यहाँ धेरै श्रमिकहरू थिए। बिस्तारा, खाना पकाउने ग्यास र पिउने पानी पनि थिएन। 'त्यहाँ इन्टरनेट थिएन, त्यसैले हामीले हाम्रो परिवारलाई सम्पर्क गर्न सकेनौं,' उनले भने।

अन्तर्वार्ता दिनेहरूमध्ये एकजनाले बाहेक अरूले नेपालमा भर्ना गर्ने एजेन्टहरूलाई औसतमा १,५०० अमेरिकी डलर तिरेका थिए। कतिपयले भर्ना शुल्क तिर्नका लागि चर्को ब्याजमा ऋण लिएको बताए।

भर्ना प्रक्रियाको क्रममा एजेन्टहरूले साउदी अरेबियाको श्रम आपूर्ति कम्पनीहरूसँग मिलेर धेरै श्रमिकहरूलाई अमेजनले नै प्रत्यक्ष रोजगारी दिने विश्वास दिलाएर ढाँटेको पाइएको छ।

श्रमिकहरूले विदेश उड्ने केही घण्टा अघि मात्र करार पत्र र अन्य कागजातहरू पाएका थिए। त्यसले गर्दा अमेजन प्रत्यक्ष रोजगारी दिने कम्पनी नभएको आशंका लाग्न थालेको थियो। तर भर्ना शुल्क तिरिसकेकाले अगाडि बढ्नु बाहेक उनीहरूसँग अर्को विकल्प थिएन। अन्यले साउदी अरेबिया पुगेपछि मात्रै यो कुरा महसुस गरेको बताएका छन्।

विवेक नामका एक श्रमिकले भने, 'उडानको दिन मैले यो अर्कै कम्पनी हो भनेर थाहा पाएँ, मैले मेरो पासपोर्टमा 'अल बस्माह क' लेखेको देखेँ अनि डराएँ। एजेन्टले चिन्ता नगर, यो अमेजनको एउटा शाखा हो भने।'

अन्तर्वार्ता दिनेहरूमध्ये धेरैले अर्को काम नपाएको बताएका छन्। काम नपाए पनि बसिरहनुपर्ने बाध्यात्मक अवस्था रहेको उनीहरूले बताएका छन्।

रोजगारदाताले बधुवा श्रमिक जसरी जबरजस्ती राखेको पाइएको एम्नेस्टीको ठहर छ।

'धेरै कष्टपूर्ण भएपछि धेरै श्रमिकहरू घर फर्कन चाहन्थे तर अल–मुताइरी प्रबन्धकहरूले उनीहरूलाई कानुनी रूपमा उपलब्ध गराउनु पर्ने हवाई टिकटहरू किनिदिएनन् र श्रमिकहरूलाई बाहिरिने कागजातहरूको लागि अमेरिकी डलर १,३३० देखि १,६०० सम्म को जरिवाना तिर्नुपर्ने बताए,' एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ।

साह्रै नै समस्यामा परेपछि केही श्रमिकले आत्महत्या गर्ने सोच बनाएको बताइएको छ।

अमेजनमा कार्यरत देवले भने, 'मैले पर्खालबाट हाम फाल्ने प्रयास गरेँ। मैले मेरी आमालाई यो कुरा भनेँ र उहाँले हुँदैन, त्यसो नगर हामी ऋण लिउँला भन्नुभयो। उहाँले ऋण लिनुभएको पनि आठ महिना बितिसक्यो र ब्याज बढिरहेको छ।'

एम्नेस्टीले त्यहाँ कार्यरत श्रमिकले लामो समयदेखि उनीहरूमाथि गरिने व्यवहारका बारेमा गुनासो गरिरहेको उल्लेख गरेको छ। तर अमेजनले श्रमिकहरूको मानवअधिकार सुनिश्चत गर्न नसकेको एम्नेस्टी इन्टरनेसनलले उल्लेख गरेको छ।

'आपूर्ति कम्पनीसँगका हाम्रा हरेक समस्याहरू अमेजनलाई थाहा छ। अमेजनले दैनिक बैठकमा श्रमिकहरूले सामना गर्ने समस्या र सवालहरूको बारेमा सोध्ने गर्छ,' श्रमिक किरणले भने।

अमेजनसँग गुनासो गर्दा कतिपय श्रमिकहरूको तलब काटिएको बताए। बस्ने ठाउँमा पानीको गुणस्तरका बारेमा कुरा गर्दा एक जना श्रमिकलाई आपूर्ति कम्पनीको कार्यालयमा लगेर थप्पड हानिएको बताएका छन्।

उनीमाथि भएको आक्रमणका बारेमा अमेजनका प्रबन्धकलाई जानकारी गराउँदा यो हाम्रो सरोकारको विषय होइन भनेर पठाइएको उनको भनाइ छ।

एम्नेस्टीको अध्ययन प्रतिवेदन नेपालका २२ जना पुरुषहरूबाट संकलन गरिएको जानकारीमा आधारित छ। उनीहरूले सन् २०२१ देखि २०२३ को बीचमा रियाद तथा जेद्दास्थित अमेजनको गोदाममा काम गरेका थिए।

उनीहरूलाई दुईवटा तेस्रो पक्ष श्रम आपूर्ति गर्ने ठेकेदारहरू (अब्दुल्ला फहाद अल–मुताइरी सपोर्ट सर्भिसेज् (अल–मुताइरी क) वा बस्माह अल–मुसानादा क र टेक्निकल सपोर्ट सर्भिसेज् (बस्माह) ले रोजगारीमा लगाएका थिए।

श्रमिक भर्ना प्रक्रिया र कार्यस्थलमा भएको शोषणलाई हेर्दा श्रमिकले सहेका दुर्व्यवहार धेरै अवस्थामा मानवबेचबिखन सरह रहेको हुन सक्ने अनुमान एम्नेस्टीको छ।

'श्रमिकहरूले अमेजन कम्पनीबाट लाभ उठाइरहेको ठानेका थियौं तर उनीहरू दुर्व्यवहारको चपेटामा परे। यसले धेरैलाई मानसिक आघात पुगेको छ। अरू सयौंले पनि यस्तै भयावह दुर्व्यवहार भोग्नु परेको हुनसक्ने हामीलाई आशंका लागेको छ,' एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने।

श्रमिकहरूले गम्भीर दुर्व्यवहार भोगेका कारण यो मानव बेचबिखन सरह हुने सम्भावना देखिएको उनको भनाइ छ।

अमेजनले यो भयावह पीडालाई धेरै पहिले नै रोक्न र अन्त्य गर्न सक्ने भए पनि असफल रहेको उनले बताए। शोषण तथा अन्यायमा परेका सबैलाई तुरून्तै क्षतिपूर्ति दिनुपर्ने र त्यस्तो समस्या नदोहोरिने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

'साउदी अरेबिया सरकारको पनि ठूलो जिम्मेवारी रहेको छ। श्रमिकहरूलाई स्वतन्त्र रूपमा रोजगारदाता परिवर्तन गर्न र बिना शर्त देश छोड्न पाउनेलगायत उनीहरूको मौलिक अधिकारको सुनिश्चित गर्न यसले तत्काल यी दुर्व्यवहारहरूको छानबिन गरी आफ्नो श्रम प्रणालीमा सुधार गर्नुपर्दछ,' उनले थपे।

श्रमिकले स्वतन्त्र भएर कम्पनी परिवर्तन गर्न पाउनुपर्ने तथा साउदी छाड्न चाहे पाउनुपर्ने एम्नेस्टीको भनाइ छ।

एम्नेस्टी इन्टरनेसनलले सन् २०२० मा पनि साउदी अरेबियामा आप्रवासी श्रमिकहरूको जोखिमकाबारे अध्ययन गरेको थियो। त्यसबेला अमेजन त्यहाँ सञ्चालनमा आएको थिएन।

सन् २०२१ मा गरिएको अमेजन जोखिम मूल्यांकनमा श्रम दुर्व्यवहारको उच्च जोखिम देखिएको थियो। यस्ता दुर्व्यवहारहरू सन् २०२३ मा पनि जारी रहेको अध्ययनले देखाएको हो।

अमेजनले मानवअधिकारसम्बधी संयुक्त राष्ट्रसंघीय मार्गनिर्देशक सिद्धान्तहरू पालन नगरेर श्रमिक दुर्व्यवहार गरेको ठहर एम्नेस्टीको प्रतिवेदनले गरेको छ।

श्रमिकहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा डररहित वातावरणमा काम गर्ने र आवाज उठाउन पाउने अवस्था सिर्जना गर्न अमेजलनाई एम्नेस्टीले सिफारिस गरेको छ।

स्टिभ ककबर्नले भने, 'अमेजनले धेरै कष्ट भोगेका श्रमिकहरूको हकअधिकार सुनिश्चित गरी काम गर्ने सहज वातावरण बनाउनु पर्नेछ। साउदी अरेबियाका लागि आफ्नो शोषणकारी श्रम प्रणालीलाई मूलभूत रूपमा सुधार गर्ने समय आएको छ।' (श्रमिकहरूको नाम परिवर्तन गरिएको छ।)

Published on: 16 October 2023 | Setopati

Link

Back to list

;