s

साउदीसँग दुई सम्झौता गर्ने सहमति

 नेपाली कामदारको प्रमुख रोजगारको गन्तव्य रहेको साउदी अरबसँग नेपालले एकैपटक दुइटा श्रम सम्झौता गर्ने सहमति भएको छ । दुई देशबीच औपचारिक क्षेत्रमा कार्यरत कामदारको सुरक्षाका लागि ‘जनरल लेबर एग्रिमेन्ट’ र घरेलु कामदारसँग सम्बन्धित ‘घरेलु कामदार सेवा’ मा श्रम सम्झौता गर्नका लागि अन्तिम चरणमा प्रवेश गरेको हो । 
श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन साउदी पुगेको ‘टेक्निकल समिति’ ले सामान्य कामदारसँग सम्बन्धित श्रम सम्झौता भित्रका विषयवस्तुबारे लगभग दुवै पक्षबीच सहमति भएको श्रमसचिव रामकुमार शर्माले कान्तिपुरलाई बताए । 
‘सामान्य कामदारका सवालमा दुवै पक्षबीच मस्यौदामा सहमत भइसकेका छौं । घरेलु कामदारसँग सम्बन्धित केही विषयहरूमा भने अझै थप छलफल आवश्यक देखिएको छ,’ साउदीबाट टेलिफोन गर्दै श्रमसचिव शर्माले भने, ‘केही महत्त्वपूर्ण विषयमा निर्णय लिनुभन्दा पहिले मेरोभन्दा माथिल्लो तहमा छलफल गर्नुपर्ने आवश्यक देखिएको छ ।’ 
शर्माको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल, श्रम महाशाखाका प्रमुख गोविन्दमणि भुर्तेलको टोलीले साउदीका उपमन्त्रीको नेतृत्वमा रहेको अधिकारीहरूसँग तीन दिनसम्म छलफल गरेका थिए । 
 
‘निकै सौहार्दतापूर्वक भएको यस पटकको बैठले श्रम सम्झौता गर्नेतिर एउटा ब्रेकथ्रुको काम गरेको छ,’ शर्माले भने, ‘साउदी जतिसक्दो छिटो श्रम सम्झौता गर्न तयार छ । घरेलु कामदारसम्बन्धी पनि एकैपटक श्रम सम्झौता गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ ।’ 
साउदीले सामान्य कामदारसँग सम्बन्धित श्रम सम्झौता कामदार पठाउने कुनै देशसँग पनि गरेको छैन । नेपालले विशेष गरी श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउने विषय साउदीको माथिल्लो तहमा अडान राखेपछि दुवै क्षेत्रमा श्रम सम्झौता हुन लागेको हो । ‘साउदीमा कार्यरत ५ लाख नेपालीलाई पन्छाएर (माइनस गरेर) घरेलु कामदारको विषयमा मात्रै श्रम सम्झौता गर्ने कुरा हुँदैन,’ शर्माले भने, ‘हामी दुवै क्षेत्रको श्रम सम्झौता एकैपटक गर्न चाहन्छौं ।’ 
 
साउदी र नेपालबीच झन्डै चार वर्षअघि देखि श्रम सम्झौता गर्ने भनिए पनि यसबारे आवश्यक तयारी अगाडि बढ्न सकेको थिएन । 
 
शर्माका अनुसार श्रम सम्झौता भएपछि कामदारको कानुनी संरक्षण हुने बताए । ‘हामीले श्रम स्वीकृति दिएर साउदी पठाएका कामदारको अधिकार सुरक्षित गर्न यस ले मद्दत पुग्ने छ,’ उनले भने, ‘सक्कली कागजातसहित उनीहरू अदालतसम्म पुगेर आफ्ना अधिकार पाउने ग्यारेन्टी हुने छ ।’ साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले दुई देश अब छिट्टै श्रम सम्झौतातर्फ अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । 
टोलीले नेपाल फर्कनुअघि साउदीका श्रममन्त्रीलाई भेटी साउदीमा कार्यरत नेपाली कामदारको अवस्था, रोजगारको सम्भावना, साउदीले कामदारको हितको पक्षमा चलेका कदमहरूको विषयमा छलफल गरेका थिए । टोली साउदीमा कार्यरत नेपाली कामदारको क्याम्पमा समेत पुगेर अध्ययन गरी बिहीबार बिहान नेपाल फर्केका छन् । 
 
Published on: 15 January 2016 | Kantipur

Back to list

;