s

साउदीसँग अघि बढ्यो श्रम सम्झौता प्रक्रिया

निर्मला घिमिरे

नेपाली श्रमिकहरूको प्रमुखमध्येको गन्तव्य मुलुक साउदीसँग श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालका अनुसार नेपालले सम्झौताका लागि आवश्यक मस्यौदा साउदी सरकारलाई पठाइसकेको छ।

'अब केही समयमै संयुक्त कमिटी बन्छ। कमिटीको छलफलपछि सम्झौता हुन्छ,' उनले भने। नेपाल सरकारले शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौता गर्न जोड दिएको पनि सचिव आर्यालले बताए।

पछिल्लो समय श्रमिकको हकहितमा काम गरिरहेका अन्तर्राष्ट्रिय संगठनहरूले श्रमिक भर्ना प्रक्रियामा स्वच्छताको सुनिश्चितता हुनुपर्ने अडान राखिरहेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले न्यायोचित भर्ना प्रक्रिया हुनुपर्ने विषय उठाइरहेको छ।

मन्त्रालयका सहसचिव राजिव पोख्रेल नेपालले साउदीसँगको सम्झौतामा न्यायोचित भर्ना प्रक्रियाको विषयलाई प्राथमिकतामा राखेको बताउँछन्। तर साउदी पक्षले शून्य लागतमै श्रमिक लैजाने हिसाबले श्रम सम्झौता गर्न सहमति भने जनाइसकेको अवस्था छैन।

त्यस्तै नेपालले श्रमिकहरूको पारिश्रमिक सेवासुविधा तथा सुरक्षाको विषयलाई पनि जोड दिएको छ। त्यहाँ अन्य मुलुकका नागरिकसरह नेपाली नागरिकहरूलाई पनि व्यवहार गर्नुपर्ने विषय पनि उठान गरिएको छ।

साउदीमा श्रम सम्झौता नगरे पनि लामो समयदेखि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै साउदीमा श्रम स्वीकृति लिएर एक लाख ८८ हजार ६९२ जना नेपाली साउदी पुगेका छन्। उनीहरूमध्ये एक लाख ८७ हजार ९६६ पुरूष र ७२६ महिला छन्।

साउदी नेपाली श्रमिकहरूको आकर्षक चौथो गन्तव्य मुलुक बनेको पनि विभागको तथ्यांकले देखाउँछ। पहिलोमा मलेसिया, दोस्रोमा कतार, तेस्रोमा युएई र चौथोमा साउदी आकर्षक गन्तव्य मुलुक बनेको हो।

फागुन महिनामा ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै युएईका लागि नौ हजार सात सय ९५, साउदीका लागि नौ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

साउदीमा नेपालबाट अधिकांश अदक्ष श्रमिकहरू जाने गरेका छन्। केही संख्यामा दक्ष तथा अर्धदक्ष श्रमिक पनि गएका छन्। नेपालबाट अधिकांश युवा क्लिनर, हेल्पर, स्विपर तथा ड्राइभिङ लगायत कामका लागि जाने गरेको तथ्यांकले देखाउँछ।

साउदी नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मध्येको एक भए पनि लामो समयदेखि यो मुलुकसँग श्रम सम्झौता हुन सकेको छैन। नेपालले लामो समयदेखि सम्झौता गर्नुपर्ने माग गर्दै आएको छ। तर पनि साउदीले अटेर गर्दा सम्झौता हुन नसकेको कतिपय सरकारी अधिकारीहरूको तर्क छ।

'हाम्रो तर्फबाट पनि केही कमीकमजोरी भए होलान्। साउदीले पनि चासो नदेखाउँदा सम्झौता हुन सकेको छैन,' विभागका एक अधिकारीले भने।

श्रम सम्झौता नगरी वैदेशिक रोजगारीमा जाँदा नेपाली श्रमिकहरू मानसिक तथा आर्थिक शोषण बढेको छ। साउदीमा कार्यरत नेपालीले भनेअनुसार काम, पारिश्रमिक तथा सेवासुविधा नपाउने समस्या छ।

लामो समयदेखि निरन्तर प्रयासले साउदी श्रम सम्झौताका लागि सकारात्मक भएको श्रम मन्त्रालयका अधिकारीहरूको तर्क छ।

हाल सरकारले नेपालबाट संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १११ वटा मुलुक खुला गरेको छ। तर पनि हालसम्म नेपालले मलेसिया, कतार, दक्षिण कोरिया, युएई, जापान, इजरायल, मोरिसस जस्ता केही मुलुकसँग मात्रै सम्झौता/समझदारी गरेको छ। भएका श्रम सम्झौता/समझदारी पनि राम्ररी कार्यान्वयन हुन सकेको छैन।

पछिल्लो समय दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा विदेशिने गरेका छन्। वैदेशिक रोजगारीमा ४० लाखभन्दा बढी युवाहरू सरकारको आकलन छ।

Published on: 27 March 2023 | Setopati

Link

Back to list

;