s

साउदीमा रहस्यमय मृत्यु

रोजगारीका लागि साउदी अरब पुगेका बर्दिया गुलरिया १३ का नसिर खाँको रहस्मय मृत्यु भएको छ । बुवा मेहदी हसनले छोराको हत्या भएको दाबी गरेका छन् । स्थानीय मोहम्मद हुसेन, उनकी श्रीमती अनवरी र छोरा अजिजले मोटो रकम लिई कतार पुर्याउने नाममा अरब पठाएको भन्दै उनले प्रहरीसमक्ष कारबाहीको माग गरेका छन् ।

भारतको लखनऊ हुँदै साउदी पठाइएका खाँको गत साउन १६ गते साउदी र कतारको सिमानामा मृत्यु भएको मेहदीले बताए । उनका अनुसार मृत्यु हुनु एक साताअघि छोराले फोन गरी १२ हजार सउदी रियाल सापटी लिन मोहम्मद हुसेनका आफन्तले बोलाएको बताएका थिए । रकम लिन नपाउँदै छोराको मृत्यु भएको जानकारी आएको उनले बताए । 'छोराले लगाएको सुन र केही नगदसमेत लुटिएकाले हत्या भएको हुन सक्छ,' उनले भने । बर्दिया प्रशासनबाट जारी ४३५१९६१ नम्बर भएको राहदानीबाट भारतको बाटो हँुदै नसिर अरब पुगेका थिए । नेपालबाट नगएकाले खाँले कानुनी प्रक्रियाअनुसार बिमा, राहत लगायतका सुविधा पाउन जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । खाँको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको उनले जनाए ।

प्रहरी कार्यालयमा निवेदन दिएकाले विदेश पठाइदिने व्यक्तिसँग सोधपुछ गरिने प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।

शव ल्याउन आग्रह

बैतडी (कास)- मलेसियामा मृत्यु भएकाका आफन्तले शव नेपाल ल्याउन पहल गरिदिन स्थानीय प्रशासन गुहारेका छन् । रोगजारीका लागि मलेसिया गएका भटना ३ पारिसैनका २५ वषर्ीय दिलबहादुर धानुकको गत भदौ १ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । १० दिन बित्दासमेत शव ल्याउन पहल नभएको आफन्त लालबहादुर धानुकले बताए ।

०६३ सालमा धानुक 'आरेन्टेल जब कन्सल्टेन्सी कम्पनी' मार्फत मलेसियाको क्वालालम्पुर गएका थिए । शव ल्याउन परराष्ट्र मन्त्रालयले दूतावासमार्फत पहल गर्ने भएकाले स्थानीय प्रशासनले केही गर्न नसक्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरिराज बिष्टले बताए ।

Published on: 27 August 2012 | Kantipur

Back to list

;