s

साउदीमा हाउसमेडका समस्या घट्दै • चार वर्षमा १०५० महिलाको उद्धार

होम कार्की
 
एक समय साउदीको राजधानी रियादस्थित नेपाली दूतावास हाउसमेडको केन्द्र जस्तो हुन्थ्यो। हरेक दिनजसो दूतावासका अधिकारीहरू हाउसमेडको उद्धार प्रक्रियामा सहभागी हुनुपथ्र्यो।  दूतावाससँग एकै महिनामा ५३ जनासम्म घरेलु कामदार (हाउसमेड) मा आएका नेपाली महिलालाई उद्धार गरी पठाएको तथ्यांक छ। ‘अहिले परिस्थिति फेरिएको छ,’ साउदीको लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘अलपत्र परेर सम्पर्कमा आउने महिलाहरू नै घटिसके।’
 
गर्भवती भएका, यौन शोषण, शारीरिक र मानसिक यातना पाउने महिलाहरूको लर्को लाग्ने दूतावासमा कहिलेकाहीँ फाट्टफुट्ट आइपुग्छन्। महिलाका लागि बनाएको सेल्टरमा एक जना युवती बच्चासहित छन्। ‘यो बच्चा मेरै श्रीमान्को हो। उहाँ यहीँ काम गर्नुहुन्छ। नेपाल पठाउन दूतावासमा ल्याएर छाडिदिनुभएको हो,’ सेल्टरमा भेटिएकी ती युवतीले भनिन्, ‘मलाई मालिक्नीले चोरी मुद्दामा फसाउन लागेकी थिइन्। श्रीमान्ले भगाएर सुरक्षाका लागि यहाँ ल्याउनुभएको हो। प्रहरीले सफाइ दिइसकेको छ। केही दिनमै नेपाल जाँदै छु।’
 
साउदीमा आउन निकै कडाइ भएकाले हाउसमेड घट्न थालेको दूतावासको बुझाइ छ। ‘यहाँ आउने अधिकांश हाउसमेड कुबेतबाट ल्याइन्थ्यो। कुबेतस्थित नेपाली दूतावास र बोर्डर कडाइ गरियो। हाउसमेड बोकेर आउने स्पोन्सरले फर्कंदा पनि अनिवार्य साथमा लैजानुपर्ने व्यवस्थामा दुवै दूतावास सफल भयौं,’ पाण्डले भने, ‘यसले साउदीमा हाउसमेड ल्याएर छाड्ने काम न्यून भयो।’ 
 
दूतावासले हाउसमेडलाई पठाउने दलालको पूरा विवरण लिई कानुनी कारबाही गर्न नेपाल प्रहरीको मानव बेचबिखान सेलसँग समन्वय पनि बढाएको थियो। ‘यहाँ उद्धार गर्न आइपुग्नेसँग हामी दलालको पूरा विवरण लिई कारबाही गर्न प्रहरीलाई पठाउने गरौं। १ सय ७८ भन्दा बढी दलालको सूची पठायौं,’ उनले भने, ‘प्रहरीले दलाललाई पक्राउ पनि गरेर कारबाही गर्न थालेपछि अलि हच्किएका छन्।’ 
 
नेपाल सरकारको आग्रहमा भारतले पनि विमानस्थलमा कडाइ गरेपछि दलालले सिधै साउदी उडाउन कडाइ गर्न थाल्यो। ‘नेपाल र भारतबीचको पराराष्ट्र मन्त्रालयबीच भएको निरन्तर छलफलले गर्दा बिना श्रम स्वीकृति महिलाहरू साउदीलगायत खाडीमा आउने सहज बाटो बन्द भयो,’ उनले भने, ‘जसले गर्दा जोकोहीलाई दलालले पहिलाजसरी पठाउन सकेन।’ तैपनि विमानस्थलमा पूर्ण रोक भने लगाइएको छैन। ‘हामी तीन जना अर्काको राहदानी बोकेर साउदी हिँड्न लगेका हौं,’ बहराइन विमानस्थलको ट्रन्जिटमा भेटिएकी रुपन्देहीका सीता लामाले कान्तिपुरलाई भनिन्, ‘सबै दलालले सेटिङ गरी पठाएको हो।’ 
 
पाण्डेले हाउसमेडको यो स्थितिमा राख्न अहिले भइरहेका कामहरू निरन्तर हुनुपर्ने ठान्छन्। ‘हाउसमेडको सवालमा अहिले चारैतिरबाट चालिएका कदम सही छन्। दर्दनाक अवस्था देख्नुपरेको छैन। चार वर्षमा मात्रै १ हजार ५० जनाभन्दा बढीको उद्धार गर्नुपर्‍यो,’ उनले भने, ‘अब हाउसमेडभन्दा औपचारिक क्षेत्रको बजारमा महिलालाई पठाउनुपर्छ। जति सम्झौता भए पनि हाउसमेडको हकमा लागू हुँदैन।’ 
 
Published on: 6 August 2015 | Kantipur
 

Back to list

;