s

साउदीमा आममाफी

गैरकानुनी रूपमा साउदी अरबमा ६० हजारभन्दा बढी घरेलु महिला कामदार -हाउसमेड) पुगेको भनिए पनि अहिलेसम्म करिब १ सय ८० बाहेकले स्वदेश फिर्तीको 'आउटपास' लिएका छैनन् । आममाफी घोषणाको पौने तीन महिना अवधिमा करिब ३५ हजार पुरुष कामदारले दूतावासबाट 'आउट पास' लिइसकेका छन् । तर यही अवधिमा स्वदेश फर्किन चाहने महिला कामदारको यो संख्या अत्यन्त न्यून हो ।

भारतीय बाटो हुँदै साउदी पुगेको र र्फकनलाई समस्या परेको खबर आइरहने गरे पनि आममाफीमा भने उनीहरूले चासो दिएका छैनन् । आप्रवासी कामदारका लागि कार्यरत संस्थाहरूले महिला कामदारसम्म आममाफीको सूचना नपुगेकाले उनीहरूले अवसर लिन नसकेको बताएका छन् । 'हाउसमेडलाई यो खबर थाहै हुँदैन,' हाल नेपाल आएका एनआरएनए साउदीका सल्लाहकार इन्जिनियर धरम केसीले कान्तिपुरसँग भने, 'मुख्य कुरा सूचनाकै अभाव हो, अनि आममाफीको प्रक्रियाबारे थाहा नहुनु पनि हो ।' 

साउदीमा नेपाली महिला कामदार मुख्यतः भारत हुँदै पुग्ने गरेका छन् । केही खाडीका देश कुवेत, कतार, ओमन, बहराइन, यूएईका घरमा लगिएकालाई साहुले आफन्तलाई 'उपहार' भन्दै साउदी पुर्‍याउने गरेका छन् । साउदीस्थित नेपाली दूतावासले त्यहाँ घरेलु महिला कामदार लैजान प्रमाणीकरण दिने गरेको छैन । साउदीबाट फर्केका कामदारले खोलेको एक संस्था 'प्रवासी नेपाली समन्वय समिति -पीएनसीसी)' ले साउदीको सरकारी निकायबाट पाएको जानकारीअनुसार त्यहाँ ६३ हजारभन्दा बढी नेपाली घरेलु महिला कामदार छन् ।

पीएनसीसी अध्यक्ष महेन्द्र पाण्डेले घरेलु महिला कामदार अप्ठ्यारो स्थितिमा भएकाले आममाफीको सुविधा लिन नसकेको बताए । 'चाहे लिगल हुन् वा इल्लिगल साहुहरूले हाउसमेडलाई घरबाट बाहिर निस्कन दिँदैनन्, अनि कसरी आममाफीको जानकारी हुन्छ ?,' उनले भने, 'मैले भेटेका साउदी नागरिकलाई त आममाफीबारे राम्रो जानकारी छैन भने कामदारलाई कसरी होस् ।'

साउदी सरकारले गैरकानुनी रूपमा कम्पनी तथा घरमा कार्यरत आप्रवासी कामदारलाई बिना दण्ड स्वदेश फर्किन, वैधता प्राप्त गर्न वा कम्पनी परिवर्तन गर्न वैशाख ३० -मे १०) देखि ५ महिना २० दिनका लागि आममाफीको अवसर दिएको छ । सुरुमा आममाफी १ महिना २० दिन र पछि चार महिना थप गरी कात्तिक १८ -नोभेम्बर ४) सम्म यसको अवधि छ ।

नेपालस्थित राष्ट्रसंघीय एक निकाय 'यूएन युमेन' की आर्थिक सशक्तीकरण कार्यक्रम विज्ञ सरु जोशीले परिवारमार्फत घरेलु महिला कामदारको खोजीमा लागेर आममाफीको फाइदा लिनुपर्ने बताइन् । 'आफ्नो आमा, भाउजु, दिदी, बहिनी को/को हुनुहुन्छ ? साउदीबाट झिकाउने यो मौका हो भनेर परिवारमा खबर नपुर्‍याई हुँदैन,' उनले भनिन्, '७५ जिल्लाकै पत्रकार महासंघ, बार एसोसिएसन, एनआरएन, सरकारी तथा गैरसरकारी संस्थाले सहयोग नगरेसम्म यो सम्भव छैन ।'

साउदीस्थित नेपाली दूतावासले आममाफी खुलेपछि दूतावासको आश्रयस्थल र आउटपासका लागि आएका महिला कामदारको संख्या न्यून हो भन्दै खबर पाए थप आउन सक्ने जनाएको छ । राजदूत उदयराज पाण्डेले नेपालबाट गैरकानुनी रूपमा आए पनि साउदीको कानुनअनुसार कानुनी हुने भएकाले कतिपय घर फर्किन नचाहेको हुन सक्ने बताए । '१ सय ८० महिला पनि नपुग्नु अनौठो हो तर हाम्रो कानुनअनुसार इल्लिगल पनि यहाँ लिगल भएपछि नफर्किन वा आफ्नै हिसाबले आउ-जाउ गर्न सक्छन्,' उनले भने, 'इल्लिगल राख्ने र बस्नेलाई सरकारले कारबाही गर्ने हुँदा बाँकी समयमा अरू केही थपिन सक्छन् ।'

साउदीमा सबै गरी ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । घर र्फकन दूतावासबाट आउटपास लिएकामध्ये अधिकांश पुरुष कामदार त्यहाँको अध्यागमनबाट समयमै निकासपत्र -इक्जिट पर्मिट) नपाउँदा कामविहीन भएका छन् । 

Published on: 5 August 2013 | Kantipur

Back to list

;