s

साउदीमा फोनमार्फत सम्पर्कमा रहन अनुरोध

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १७ गते । साउदी सरकारले रमजानको बेलामा कफ्र्यु खुकुलो बनाएको छ । रमजान बेलालाई मध्यनजर गर्दै साउदी सरकारले मक्का क्षेत्रबाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुनेगरी कफ्र्युको समयमा हेरफेर गरेको रिहादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी सरकारले वैशाख १३ वा अप्रिल २६ देखि वैशाख ३० गते वा मे १३ ताारिखसम्मका लागि बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कफ्र्यु हटाएको छ ।

यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दालगायतका ठाउँमा २४ घण्टे कफ्र्यु लगाइएको थियो । कफ्र्युको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कफ्र्युको समयलाई पूर्ण पालना गर्न साउदी सरकारले अनुरोध गरेको दूतावासले जनाएको छ ।

यस्तै साउदी अरेबियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीको गुनासो सुन्नका लागि छुट्टै टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । दूतावासका अनुसार फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासा पठाउन कठिन भएको भन्ने गुनासो धेरै आएको हुँदा दूतावासले समस्यामा परेका नेपाली श्रमिकले आफ्नो विवरण टेलिफोनबाट लिनेगरी दुईवटा टेलिफोन नम्बरको व्यवस्था गरेको छ ।

साउदीको दूतावासमा रहेका फोन नम्बर ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्या टिपाउन सकिने छ । बिहान ९ ः०० देखि १२ः०० बजेसम्म र दिउँसो १ः०० देखि ४ः०० बजेसम्म फोनमा गुनासो टिपाउन सकिने दूतावासले जनाएको छ ।

Published on: 29 April 2020 | Gorkhapatra

Link

Back to list

;