s

साउदीमा ६ महिनासम्म कामदार कटौती गर्न नपाइने

होम कार्की

काठमाडौँ — साउदी सरकारले आगामी ६ महिनासम्म कामदारको सहमतिविपरीत रोजगारबाट निकाल्न नपाइने नीति ल्याएको छ । कामको समय घटेको खण्डमा भने कूल तलबको ४० प्रतिशतसम्म तलबमा कमी गर्न पाइनेछ । 

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतका अनुसार मानव संशाधन तथा सामाजिक मन्त्रालयले कोरोना महामारी समयमा निजी क्षेत्रका रोजगारदाता र कामदारबीच राख्नुपर्ने सम्बन्धबारे नयाँ निर्देशन जारी गरेको हो ।

‘साउदीको नयाँ निर्देशन अनुसार कोरोनाको महामारीलाई देखाएर रोजगारदाताले कामदारलाई तत्काल रोजगारबाट निकाल्न पाइने छैन’, उनले कान्तिपुरसँग भने, ‘यो नीतिले जर्बजस्ती रोजगार खोस्ने कार्य रोकिनेछ ।’ साउदीबाट धेरैको रोजगार खोसिने सम्भावना बढिरहेको बेला साउदीको नयाँ नीतिले ठूलो राहत मिलेको छ । 

‘करार अवधि समाप्त भइसकेका वा हुनेको हकमा रोजगारदाता र कामदारबीचको आपसी सहमतिमा हुने कुरा भयो । अब एकतर्फी रुपमा करारपत्र रद्द हुने अवस्थालाई भने सम्बोधन गरेको देखिन्छ’, उनले भने ।

साउदीले दैनिक ८ घन्टा काम दिन नसक्ने कम्पनीले भने अवस्था हेरेर ६ महिनासम्मको लागि कूल तलबको ४० प्रतिशतसम्म कमी गरेर तलब दिन पाइनेछ । ‘काम नै नभएर बसेका कामदारका लागि तत्कालको लागि ६० प्रतिशत तलब पाउने व्यवस्थालाई सुरक्षित गरेको छ । हाल कटौती भएको तलब भने ६ महिनापछि भुक्तानी गर्नुपर्नेछ’, उनले भने ।

सरकारले कामदारलाई आवश्यकता हेरेर वार्षिक बिदा दिन सक्ने र कामदारले पनि आफू बेतलबी बिदामा बस्न सक्ने प्रावधान ल्याएको छ ।

साउदीले निजी क्षेत्रमा काम गर्ने आफ्ना नागरिकको गत अप्रिलदेखि जुनसम्मको तलब सरकारले नै व्यहोर्ने नीति यसअघि नै घोषणा गरेको थियो । तर, सबै विदेशी कामदारको हकमा भने कुनै राहत ल्याएको छैन । विशेष क्षेत्रमा काम गर्ने विदेशी कामदारको लागि १० देखि १५ प्रतिशतसम्म तलब भुक्तानी गर्ने भनिएको छ ।

साउदीमा ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् । दूतावासका अनुसार सबै नेपाली कामदारहरु प्रभावित भइसकेका छैनन् । काम नहुने र तलब नपाउने केही कामदारको समस्याहरु दूतावासको जानकारीमा रहेको राजपुतले बताए । ‘दैनिकजसो १० देखि १५ जना कामदारहरु समस्यामा परेको भन्दै सम्र्पकमा आइरहेका छन्’, उनले भने ।

ठूला कम्पनीहरु तत्काल कामदार कटौती गरेर कामदारलाई पठाइहाल्ने पक्षमा नदेखिएको उनले बताए । ‘ठूला कम्पनीलाई पूवर्वत अवस्थामा काम सुरु गर्नुपर्दा कामदार चाहिन्छ । अहिले नै पठाइहाल्ने अवस्था छैन । उनीहरुलाई क्याम्पमै खानाको प्रबन्ध गरेर राखिरहेको छ’, उनले भने, ‘भोलि कामदार पठाएर फेरि ल्याउनुपर्दा आर्थिक रुपमा ठूलो भार पर्नेछ ।’

साउदीमा कोरोना भाइरसको संक्रमण भने दैनिक रुपमा हजारदेखि १५ सय जनाको दरले बढिरहेको छ । संक्रमितको सख्या २८ हजारभन्दा बढी पुगिसकेको छ । साउदीले संक्रमितको संख्या झन्डै दुई लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ । संक्रमित हुने विदेशी र स्थानीय नागरिकको संख्या सार्वजनिक गरिएको छैन । ‘सबैको समान उपचार र खाने प्रबन्धको जिम्मेवारी साउदी सरकारले लिएको छ’, उनले भने, ‘कोही नेपाली समस्यामा परेमा कम्पनी र सरकारसँग हाम्रो समन्वय भइरहेको छ ।’

Published on: 5 May 2020 | Kantipur

Link

Back to list

;