s

साउदीमा थप ८४ जना नेपालीले पाए बहिर्गमन भिसा

काठमाडौँ, भदौ २५ गते । साउदीमा थप ८४ जना नेपालीले बहिर्गमन भिसा प्राप्त गरेका छन् । साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएको हो । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ९४८ जना नेपालीलाई बहिर्गमन भिसा जारी गरेको छ ।

यसमध्ये ८६४ सम्मको सूची यसअघि नै प्रकाशन गरिसकिएको दूतावासले बताएको छ । नयाँ भिसा प्राप्त गरेकाको नामावली दूतावासको फेस बुक पेजमा पनि सार्वजनिक गरिएको छ ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरेका कामदारले नेपाल फर्कनको लागि वहिर्गमन भिसा प्राप्त गर्नुपर्ने हुन्छ ।उक्त भिसा पाएका नेपाली कामदार अब स्वदेश फर्कन बाटो खुलेको छ । नेपाली दूतावासले अनुरोध गरेबमोजिम साउदी सरकारले बहिर्गमन भिसा प्रदान गरेको हो ।

साथै, विभिन्न व्यक्तिहरूले झुठा विवरण दिई दूतावाससमक्ष वहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे त्यस्ता व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्नेमा दूतावासले सचेत गराएको छ । बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन दूतावासले अनुरोध गरेको छ ।

Published on: 11 September 2020 | Gorkhapatra

Link

Back to list

;