s

साउदीमा सम्झौता विपरीत कुकुर मार्ने काम गर्दै १५ जना नेपाली, उद्धारको अपील

साउदी : रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्। उनीहरू विसं २०७९ माघ २४ गते रियाद आएका थिए।

८ घण्टा काम गरेबापत १२ सय साउदी रियाल पारिश्रमिक दिने सहमति गरिएको थियो। थप दुई घन्टा ओटी गरे महिनाको १५ सय रियाल सम्म हुने आश्वासनमा उनीहरू साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा ड्राईभर रूपमा काम गर्न आएका थिए। तर सम्झौता विपरीत आफूहरूले काम गर्नुपरेको उनीहरूको भनाइ छ।

'हामीलाई सुरुमा सम्झौता विपरीत काम गर्न लगाइयो र ६ महिनासम्म काम गर्दा २ महिनाको तलब दिएको र बाँकी तलबको कुरा गर्दा इकामा आइडी नबनाइदिने, काम रोकेर राख्ने, कार्यरत ठाउँबाट स्थानान्तरण गरी अर्को ठाउँमा लगेर राख्ने र मानसिक तनाव दिने गर्छन्,' पीडितहरूले भने। उनीहरूले कुकर मार्नेजस्तो क्रूर काम गर्न लगाएको गुनासो गरे। 'तलब त दिएनन्। तीन महिनादेखि जबर्जस्ती हामीलाई कुकुर मार्ने काममा लगाएका छन्,' उनीहरूले भने। पिउने पानीदेखि खाद्यान्नसम्म नपाएको उनीहरूको गुनासो छ।
म्यानपावरले कम्पनीको भिसा भन्दै प्रतिव्यक्ति एक लाख पचास हजारदेखि दुई लाख ३० हजारसम्म म्यानपावरका दीपक बस्नेतलाई बुझाएको उनीहरूले बताए।

'कम्पनीले अलपत्र पारेको जानकारी म्याननपावरमा कार्यरत बस्नेतलाईलाई गराउँदा उल्टै धम्की दिने गरेका छन्,' एक पीडितले भने। उनीहरूले मानसिक यातना बोकेर कुकुर मार्ने काम गरेको बताए। उनीहरूले आफूहरूलाई उद्धार गरिदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्।

अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्रताव मिश्र, खोटाङ भरत मगर, रामेछापका साजनकुमार मोक्तान, सिराहा विजय कुमार महतो, काठमाडौंका ममकुमार तामाङ, धरानका पेमा शेर्पा, काठमाडौं बाबु काजी, तनहुँका सुजन आर्चाय, बर्दिबासका समिर मगर, काभ्रेका समिर विक, नवलपरासीका सागर गुप्ता, मकवानपुरका रामकृष्ण बाइवा रहेका छन्।

Published on: 25 July 2023 | Annapurna Post

Link

Back to list

;