s

साउदीमा सात महिनामा १३८ नेपालीको मृत्यु

विष्णु घिमिरे

साउदी : साउदी अरेबियामा पछिल्लो सात महिनामा मात्रै १३८ नेपालीको मृत्यु भएको छ। २० जनाले आत्महत्या गरेका छन्। नेपाली दूतावासको तथ्यांकअनुसार सन्् २०२२ जनावरीदेखि हालसम्म यतिको संख्यामा नेपालीले ज्यान गुमाएका हुन्।

त्यसमध्ये १२१ वटा मात्रै शव नेपाल पठाइएको छ। बाँकीलाई पठाउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ। यसैबीच दूतावासले नेपाली कामदार र साउदी पुगेका नेपालीलाई आफ्नो सुरक्षाका लागि सचेत रहनसमेत अपिल गरेको छ। दूतावासको आधिकारिक फेसबुकमार्फत सूचना जारी गर्दै कानुनको पालना गर्न र स्वास्थ्यका विषयमा पनि सचेत रहन भनेको हो।

कम्पनी छोडेर अन्यत्र काम गरी बसेका वा नवीकरण नगरेका नेपाली कामदार स्वदेश फिर्ता हुन चाहेमा अथवा बहीर्गमन भिसाका लागि पनि प्रक्रिया पूरा गर्न दूतावासले आग्रह गरेको छ। साउदीमा हाल कफाला प्रणाली लागू गरे लगत्तै कामदारले यो नियम नबुझी कार्यरत कम्पनी छोड््नाले थप समस्या देखापरेको छ।

कफाला प्रणाली भनेको रोजगारदाताको अनुमतिबिना देशभित्र प्रवेश गर्न, स्वदेश फर्कन वा काम गर्न अथवा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने प्रणाली हो। यसबारे ज्ञान नहुँदा धेरै कामदार कानुनी झमेलामा पर्ने गरेका छन्।

Published on: 25 July 2022 | Annapurna Post 

Link

Back to list

;