s

साउदीमा फसेका कामदारहरूलाई टिकट पठाइदिन ताकेता

साउदी अरवस्थित नेपाली दूतावासले बिचल्लीमा परेका २३ नेपालीलाई उद्धारको लागि टिकटको व्यवस्था गरिदिन वैदेशिक रोजगार विभागसमक्ष अनुरोध गरेको छ । 
 
७ महिनादेखि बिचल्लीमा परेका ती कामदारलाई स्वदेश पठाउन कम्पनीले एक्जिट भिसा उपलब्ध गराएपछि दूतावासले टिकटका लागि विभागसमक्ष अनुरोध गरेको हो। ती कामदारलाई प्रिन्स इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले साउदीस्थित इम्प्राटोर सोलुसन कन्ट्रक्टिङ कम्पनीमा पठाएका थिए।
 
‘कम्पनीका स्पोन्सर सम्पर्कमा थिएनन्। एजेन्ट मात्रै सम्पर्कमा थिए। निकै लामो प्रयासपछि कम्पनीले एक्जिट भिसा लगाइदियो,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘टिकटका लागि म्यानपावरसँग समन्वय गरी यथाशीघ्र पठाइदिन अनुरोध गरेका छौं।’
 
अलपत्र पर्ने अधिकांश कामदार एउटै गाउँका उराव समुदायका छन्। ‘हामीलाई कम्पनीले काम र तलब दुवै दिएन,’ सिराहाका रामजतन कामतीले भने, ‘आएलगत्तै भोलिदेखि काम दिन्छु भन्यो। सात महिना बितिसक्दा पनि केही गरेको छैन।’
 
अलपत्र पर्नेमा अधिकांश महनौर अर्नामा–१, सिराहाका छन्। जसमा सिराहका कामती, युधिर कामती, रामकुमार उराव, देवकुमार उराव, परमेश्वर उराव, प्रभात कुमार उराव, सन्जु उराव, रञ्जीत उराव, सञ्जयकुमार उराव, नवीनकुमार उराव, सगमलाल उराव र मुनेश्वर उराव छन्।
 
त्यस्तै भोक्राहा–४ सुनसरीका हेमन्ता उराव, पवन उराव, रामलाल उराव, रञ्जीत उराव, कालो उराव, सन्देव उराव, पुष्पलाल उराव, अशोककुमार उराव, दुहबी–८ सुनसरीका सीताराम उराव, उमेश उराव र रंगेली–२ मोरङका बोवालाल उराव रहेका छन्।
 
लामो समयसम्म कामविहीन भएर बस्नुपर्दा ऋण भुक्तानी गर्न नपाइरहेको बताए। ‘न त माम खान पाइयो। न त काम। घर फर्कन चाहन्छौं भन्दा पनि कम्पनीले कुनै चासो दिएको छैन,’ सीतारामले भने। पीडितले आफूहरूलाई उद्धार गरिदिन नेपाली दूतावासलाई आग्रह गरिसकेका छन्।
 
साउदीको श्रम बिभागमा पुग्दा पनि गुनासो सम्बोधन नभएको उनीहरूले बताए। पवन उरावले प्रहरीले आफूहरूलाई चारपटक पक्राउ गर्दै छाडदै गरेको बताए। उनीहरूको साउदीको आवासीय अनुमति कार्ड (भिसा) समेत दिएको छैन।
 
पीडितलाई खानाका लागि म्यानपावरले ५ हजार रियाल पठाइदिएको छ। मिथिला एकता समाजका महन्थ विन्देश्वर यादवले थप आर्थिक सहयोग जुटाइरहेका छन्।
 
Published on: 15 March 2018 | Kantipur

Back to list

;