s

साउदीमा नेपाली चालकको पीडा : ८० लाख क्षतिपूर्ति तिर्न नसक्दा जेलको बास

साउदी अरबमा आफूले चलाएको गाडी दुर्घटना परेपछि घाइतेले मागेको क्षतिपूूर्ति तिर्न नसक्दा एक नेपाली चालक पाँच महिनादेखि जेलमा थुनिएका छन् ।
 
घाइतेले मागेको करिब ८२ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति तिर्न नसकेपछि गोरखाको भीमसेन थापा गाउँपालिका ७ का कुमार रानामगर जेल परेका हुन् ।
 
सन् २०१७ को सेप्टेम्बर महिनामा पक्राउ गरेर हिरासतमा राखिएका ३९ वर्षका कुमारलाई गत जनवरी अर्थात माघ पहिलो हप्ता साउदीको अफिफ सेन्ट्रल जेल चलान गरिएको छ ।
 
साउदी अरबस्थित नेपाली दूतावासले क्षतिपूर्ति रकम नतिरेसम्म कुमारको रिहाइको सम्भावना नरहेको बताएको छ । राजदूत महेन्द्र सिहंले परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेखी कुमारले घाइतेलाई रकम तिर्नैपर्ने बताएका छन् ।
 
कुमार व्यक्तिगत श्रम स्वीकृतिमा ०७१ सालमा साउदी अरबको खालिद एसअल कम्पनीमा हेल्पर पदमा काम गर्न गएका थिए । उनीसँग चालक अनुमतिपत्र (लाइसेन्स) नभए पनि कम्पनीले हेभी गाडी चलाउने जिम्मेवारी दिएको थियो ।
 
नेपाली दूतावासका अनुसार चालक अनुमतिपत्रविना र तेस्रो पक्ष विमा तथा कागजात नभएको अवस्थामा उनले चलाएको गाडीले २४ अपि्रल २०१६ -०७३ वैशाख ४ गते) अफिफ भन्ने ठाउँमा कारमा सवार साउदी नागरिकलाई ठक्कर दिएको थियो ।
 
उक्त दुर्घटनामा घाइते भएका साउदी नागरिक खालिद अल ओताइवीले क्षतिपूर्ति अर्थात दिया रकम माग गर्दै २०१६ को डिसेम्बर १९ मा साउदी अदालतमा मुद्दा दायर गरेका थिए ।
 
साउदीको अफिफ जनरल कोर्टले प्राइभेट राइट अन्तर्गत कुमारले घाइते साउदी नागरिकलाई २ लाख ९४ हजार रुपैयाँ दिनुपर्ने फैसला सन् २०१७ को अपि्रल १७ तारेखमा सुनाएको थियो ।
 
उक्त रकम तिर्न नसकेपछि कुमार २०१७ कै सेप्टेम्बर महिनामा (२०७४ साल कात्तिक) पक्राउ परे र २०१८ को जनवरी (२०७४ साल माघ) देखि जेल चलान भए ।
 
कम्पनीको सहयोगमा कुमार रानाले फैसलाविरुद्ध अपिल गरे पनि अदालतले सुनुवाइ गर्नु नपर्ने निर्णय गरेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
 
दूतावासले भन्यो : पैसा नभई हुँदैन 
 
साउदी अरबस्थित नेपाली दूतावासले नेपाली दूतावासले दुर्घटनामा घाइते भएका साउदी नागरिक आलिद अल ओताइबीको घरमै गई क्षमादान दिन वा रकम कम गरिदिन पटक -पटक अनुरोध गरे पनि उनले अस्वीकार गरेका छन् ।
 
कुमार रानाबारे लेखेको पत्रमा नेपाली दूतावासले भनेको छ- ‘निजलाई कुमारले त्यति रकम तिर्न नसक्ने, नेपाल सरकारसँग तिर्ने व्यवस्था नभएको, स्पोन्सरले तिर्न इन्कार गरेकाले क्षमादान दिन वा रकम घटाइदिन यी दुवैै नभएमा निजले तिर्न नसकी न त घाइतेले नै रकम पाउन सक्ने न त कुमार नै जेलबाट निस्कन सक्ने अवस्था रहने हुनाले गम्भीरतापूर्वक सोचिदिन आग्रह गरियो, तर निजले आफूलाई ऋण भएको, आफू घाइते र अशक्त भएकाले जीवन निर्वाहका लागि रकम चाहिने दावी गरेर नघट्ने, क्षमादान नदिने र पूरा रकम पाएमा कुमारलाई केही रकम फिर्ता दिन सक्ने जानकारी दिएको छ ।’
 
दूतावासले विपक्षीलाई क्षतिपूर्ति रकम नबुझाई कुमारको रिहाइ नहुने हुनाले रकम तिर्ने व्यवस्था मिलाउन परिवारलाई आग्रह गरेको छ।
 
कमजोर आर्थिक अवस्थाको राना परिवारका एक मात्र छोरा कुमार ०७१ सालमा पहिलो पटक साउदी अरब गएका थिए । एक पटक घरविदामा नेपाल आएका राना पछि फेरि त्यसै कम्पनीमा काम गर्न गएका थिए ।
 
दोहोर्‍याएर साउदी गएको १ वर्षमा कुमारले चलाउने गाडी रोकिरहेको ठाउँमा साउदी नागरिक चढेको सानो गाडी ठोक्किएको कुमारकी पत्नी अम्बिका रानाले बताउँछिन् ।
 
क्षतिपूर्ति रकम नबुझाएसम्म कुमार रिहा हुने सम्भावना नभएकाले परिवारले सहयोगको अपील गरेको छ । कुमारकी पत्नी आफ्ना पतिलाई उद्दारका लागि आग्रह गर्दै काठमाडौंमा विभिन्न संघसंस्था र सरकारी निकाय धाइरहेकी छन् ।
 
कुमारलाई जेलमुक्त गर्न उनका आफन्त र साथीहरुले गोरखा कुमार राना उद्दार समिति गठन गरी सहयोग संकलन सुरु गरेका छन् । समितिका संयोजक कृष्णप्रसाद ढकालले देश र विदेशमा रहेका सबै नेपालीको सहयोग पाएमा कुमार रानालाई जेलमुक्त गर्न सकिने बताए ।
 
विदेशमा काम गर्न जाँदा सवारी लाइसेन्स नलिई जाने र वैधानिक रुपमा काम नगर्ने कामदारहरुका कारण यस्ता समस्या झनै जटिल बन्ने गरेका छन् ।
 
कुमार रानाले तिर्नुपर्ने रकम उनले काम गर्ने कम्पनीले वा त्यस्तो काममा खटाउने एजेन्टहरुले व्यहोर्नुपर्नेमा उनीहरुले अटेर गरेपछि पीडित परिवारका सदस्यहरु नेपाल सरकारलाई गुहार्नेदेखि सहयोग संकलन अभियान चलाउनेतिर लाग्न बाध्य छन् ।
 
हेर्नुहोस्  दूतावासले लेखेको पत्र : 
 
Published on: 18 March 2018 | Onlinekhabar

Back to list

;