s

साउदीमा नयाँ नियमले नेपाली कामदार समस्यामा

वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको साउदी अरबमा 'निताकत कार्यक्रम' लागु भएपछि नेपाली कामदार थप समस्यामा परेका छन्। बेरोजगार आफ्ना नागरिकलाई रोजगार दिन साउदी श्रम मन्त्रालयले निताकत कार्यक्रम कार्यन्वयनमा ल्याउँदा नेपाली समस्यामा परेका हुन्। कार्यक्रम अनुसार साउदी कम्पनीले ५ देखि १० प्रतिशतसम्म स्वदेशी नागरिकलाई अनिवार्य रोजगारी दिनु पर्छ।

'निताकत कार्यक्रम कार्यन्वयनमा आएपछि नेपाली कामदार समस्यामा परेका छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'आफ्नो कारणले नभई कामदार कम्पनीको लापरवाहीले समस्यामा परेका हुन्।'

निताकत कार्यक्रमले बिभिन्न तरिकाबाट नेपाली कामदार प्रभावित भएका छन्। पहिलो, अनिवार्य १० प्रतिशतसम्म स्वदेशी नागरीकलाई रोजगार दिंदा विदेशी कामदार कटौतीमा पर्ने गरेका छन्। विदेशी कामदारको तुलनामा स्वदेशीलाई रोजगारमा लगाउँदा बढि तलव तथा सेवा-सुविधा दिनुपर्ने हुँदा कम्पनीले विदेशी अझ बढि कटौती गर्न थालेका छन्।

कतिपय रोजगारदाता कम्पनीहरुले कार्यक्रम कार्यन्वयन नगर्दा कम्पनीको सम्पूर्ण कारोबार नै साउदी सरकारले रोक्का गरिदिएको छ। यस्ता कम्पनीमा कार्यरत नेपालीले तलव तथा सेवा-सुविधा पाउन सकेका छैनन्। यस्तो कम्पनीले जबसम्म निताकत कार्यक्रम पूर्णरुपमा कार्यान्वयन गर्दैनन् तबसम्म कामदार सेवा-सुविधाबाट बञ्चित रहनेछन्। कारवाहीमा पर्ने कम्पनीले कार्यक्रम कार्यन्वयन नगरेसम्म कामदार स्वदेश फर्कनसमेत नपाउने नियम छ।

'कारवाहीमा पर्ने कम्पनीले आफुलाई अपग्रेड नगरेसम्मको बीचमा कामदारले समस्या झेल्नु परेको छ,' राजदूत पाण्डेले थप स्पष्ट पारे, 'कम्पनी अपग्रेड नभएसम्म न त्यहाँ काम गर्ने कामदारले तलव नै पाउँछन् न स्वदेश फर्कन नै।'

गत अगष्टमा साउदी श्रम मन्त्रालयले पेट्रोल पम्प, ढुङ्गा, ग्रेनाइट तथा टाइल्स, ढुवानी सेवा र सार्वजनिक यातायात गरी थप चार वटा आर्थिक क्षेत्रलाई पनि निताकत कार्यक्रम भित्र समेटेको छ। साउदी श्रम मन्त्रालयले यसअघि ४५ वटा आर्थिक क्षेत्रलाई कार्यक्रम भित्र समेटेको थियो।

साउदीले खासगरी रोजगार बजारलाई लक्षित गर्दै निताकत कार्यक्रम कार्यन्वयन गर्दै आएको छ। कम्पनीको प्रकृति हेरेर मन्त्रालयले ५ देखि १० प्रतिशतसम्म स्वदेशीलाई अनिवार्य रोजगार दिनु पर्ने प्रावधान कार्यक्रममा छ। धेरैजसो नेपाली कामदार साउदीका निर्माण कम्पनीहरुमा कार्यरत छन्।

निताकतलाई आधार बनाई साउदीले कम्पनीहरुलाई तीन वटा सूचीमा राख्ने गरेको छ। साउदीले कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन गर्ने कम्पनी ग्रिन जोनमा, केही मात्र कार्यान्वयन गर्ने कम्पनीलाई एलो जोनमा र वेवास्ता गर्ने कम्पनीलाई रेड जोनमा राख्दै आएको छ। रेड जोनमा पर्ने कम्पनीको सम्पूर्ण कारोबार साउदीले बन्द गर्दै आएको छ। हालसम्म ५० प्रतिशतभन्दा बढि यातायात कम्पनीले निताकत कार्यान्वयन गरिसकेका छन्।

मन्त्रालयका अनुसार निताकत कार्यक्रम लागू भएको एक बर्ष भित्र २ लाख ५० हजार साउदी नागरिकले रोजगार पाइसकेका छन्। निताकतकै कारण पछिल्लो सात महिनामा मात्र ५४ हजार साउदी महिलाले रोजगार पाएका छन्। पाँच लाख भन्दा बढि वेरोजगार साउदी नागरिकलाई रोजगार उपलब्ध गराउने निताकत कार्यक्रमको उदेश्य छ।

साउदीमा रहेका आप्रवासी कामदारमा सबैभन्दा ठूलो संख्या फिलिपिनोको छ। साउदीमा रहेका १५ लाख फिलिपिनो कामदार मध्ये ३० प्रतिशत कामदार निताकत कार्यक्रमबाट प्रभावित भएको जनाइएको छ। साउदीमा झण्डै ६ लाख नेपाली कामदार रहेको अनुमान छ। 'ठ्याक्कै यति नै नेपाली कामदार निताकतबाट प्रभावित भएका छन् भन्ने डाटा हामीसँग छैन,' राजदूत पाण्डले भने।

Published on: 21 November 2012 | Nagarik

Back to list

;