s

साउदीमा मृत्युदण्डबाट जोगिएका उमेशले १४ वर्षपछि श्रीमती र छोरा भेट्दा‍‍...

साउदी अरबमा मृत्युको मुखबाट जोगिन सफल भएका उमेश यादव सोमबार गृहनगर जनकपुर फर्किएका छन्। तीन दिन अगाडि स्वदेश फर्केका यादव सोमबार जनकपुर आइपुगेका हुन्।

यादवलाई साउदी अरबले मृत्युदण्डको सजाय तोकेको थियो। तर, केही अभियन्ता तथा नेपाली राजदूतावासको पहलमा मृत्युदण्डको सजायबाट जोगिन सफल भए। अन्ततः १४ वर्षपछि उनी आफ्नो परिवारका सदस्यहरूसँग भेट गर्न आएका छन्। १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरूलाई भेट्दा उनले आफूलाई सम्हाल्न सकेनन्।

जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा भावविह्वल भएका थिए। श्रीमती सञ्जु यादव र छोराहरू भक्कानिएर रोइरहेका थिए।

श्रीमान आउँदै गरेको खबर सुनेर श्रीमती सन्जु, छोराहरू कमलेश र हितेशसँगै विमानस्थलमा पुगेकी थिइन्। १४ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि सन् २००६ मा साउदी अरब जाँदा उनको जेठो छोरा कमलेश ४ वर्षका थिए। कान्छो छोरा मात्र १७ दिनका थिए। उमेशले विदेशमा राम्रै कमाइ गरे। तर, उनी जेलमा परेको खबर सुनेपछि श्रीमती सन्जु माइत गइन्।

 

उनी धनुषाको कमला नगरपालिका ५ पर्सामा उमेशको घर त्यागेर सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ७ मरेवा माइत गइसकेकी थिइन्। छोरासँगै माइत गएकी सन्जु ८ वर्षसम्म उतै बसिन्।

उमेश जेलमा पर्दा सन्जुलाई छोरा पढाउन मजदुरी गर्नुपर्‍यो। अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन्। कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिङ स्कुलमा पढ्छन्। हितेश सरस्वती बोर्डिङ स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।

विदेशमा पाकिस्तानी नागरिकको हत्या आरोपमा उनी पक्राउ परेका थिए। तर पनि ६ वर्ष उमेश र सञ्जुबीच कुनै सम्पर्क नै हुन सकेन। त्यसपछि घरपरिवारले पनि आशा मार्न थाले।

तर, सञ्जुलाई श्रीमान् जीवितै रहेको आशा थियो। ६ वर्षपछि एक दिन उनलाई उमेशको फोन आयो। लुकिछिपी फोन गरेका रहेछन्। उनले फोनमा श्रीमतीलाई भने, ‘म जिउँदै छु, बच्चाको ख्याल गर्नु, पढाउनु।’

उमेशले धेरै कुरा गरेनन्। आफ्नो चिन्ता नलिन उमेशले श्रीमतीलाई भनेका थिए त्यतिबेला। त्यसयता उनीहरुबीच दुई वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो। उमेशलाई फाँसी दिने पहिलेदेखि हल्ला थियो। यो कुराले सन्जु र उमेशको परिवारलाई एकदमै पीडा हुन्थ्यो।

साउदी अरबको जुबेल अदालतले फाँसी दिने निर्णय गरेको सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज रायले पहलकदमी लिए। त्यसपछि उमेशलाई केही राहत भयो। परिवारलाई उमेश बाँचेर फर्किने आशा पलायो।

उमेशविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो। सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले अदालतबाट आममाफी पाएपछि गत बुधबार उनी काठमाडौं अवतरण गरेका थिए।

तीन वर्षका लागि उनी सन् २००६ मा साउदी अरब गएका थिए। कामको सिलसिलामा पाइप खसेर घाइते भएका एक पाकिस्तानीको मृत्यु भएपछि कम्पनीले मृत्युको कारण उमेश भएको ठहर गर्‍यो। सोही आधारमा प्रहरीले मुद्दा चलाएपछि अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

Published on: 28 January 2020 | Setopati

Link

Back to list

;