s

साउदीमा महिला बन्धक

लालप्रसाद शर्मा

रोजगारका लागि साउदी अरब पुगेकी एक महिला काम गर्ने घरमै ४ महिनादेखि बन्धक बनाइएकी छन् । महिलालाई छुटाउन घरमालिकले पटकपटक फोनमार्फत रकम मागेपछि परिवारजन थप पीडामा छन् । 

घरेलु कामदारका रूपमा साउदीको रियाद पुगेकी तनहुँ फिरफिरेकी ३१ वर्षीया लालु विश्वकर्मालाई मालिकले थुनेर राखेका हुन् । १० र ६ वर्षका छोरीकी आमा विकलाई गाउँकै बाबुराम विकले असारमा भारतको नयाँदिल्ली हुँदै साउदी पुर्‍याएको लालुकी आमा दुलेगौंडाकी यामकुमारीले जनाइन् । यामकुमारीका अनुसार बाबुराम अहिले सम्पर्कमा छैनन् ।

छोरीसँग नियमित सम्पर्क भइरहेको र उनले आफूलाई यातनासाथ घरमा थुनेको बताएकी छन् । लालुलाई उद्धृत गर्दै उनकी आमाले भनिन्, 'दिनको एउटा सुक्खा रोटीमात्रै खान दिएको छ ।' सोमबार सञ्चारकर्मीले साउदी अरबमा सम्पर्क गर्दासमेत लालुले मालिकको यातनाले आफू बिरामी परेको र छिट्टै मुक्त गराइदिनु पर्‍यो भन्दै बिलौना गरिन् । 

'पैसा नपठाएसम्म थुन्छु भनेको छ,' लालुले टेलिफोनमा भनिन्, 'छिट्टै पैसा पठाएर मलाई मुक्त गराइदिनु पर्‍यो ।' परिवारजनका अनुसार सुरुमा १० हजार साउदी रियाल माग गरेको घरधनीले अहिले ६ हजार पठाइदिए छोरी फिर्ता गर्ने भन्दै आएका छन् । 

मालिकले आमा यामकुमारीको मोबाइलमा म्यासेजसमेत पठाएर पैसा माग गरेका छन् । उनले साउदी होल्यान्डी बैंक एकाउन्ट नम्बर इबान सा ७०५००००००० ०१०२४४२७४२७४ रावडा ब्रान्च ब्याडर मोहम्मद अल्सामरी उल्लेख छ । असारमा दिल्ली पुगेकी लालु साउनमा साउदी अरब गएकी थिइन् । 

लालुले सुरुमा घरमा बच्चा हेर्नेसहित सबै काम गर्नुपर्दा दुःख भएको भन्दै फर्किने बताउँदै आएकी थिइन् । 'काम गर्न सकिन, फर्किन्छु भनेकी थिई,' छोरीलाई मुक्त गराइदिन अनुरोध गर्दै पोखरा आएकी यामकुमारीले आइतबार सञ्चारकर्मीसँग भनिन्, 'तर अहिले खान नदिई थुनेको छ भन्ने सुन्दा साह्रै चिन्ता लागेको छ ।' काम गरेको केही समयपछि भागेकी लालुलाई घर मालिकले बाटोबाट समातेर थुनेको उनले बताइन् ।  

सञ्चारकर्मीसँगको टेलिफोन सम्पर्कमा पनि लालुले घर राम्रो नभएकाले आफूले काम गर्न नसकेको बताइन् । उनी फोनमा मालिकले कुटपिट गर्ने गरेको भन्दै रोइरहेकी थिइन् । 

लालुका आफन्त तिलबहादुर विकले समस्याबारे परराष्ट्र मन्त्रालयमा जानकारी दिने तयारी भइरहको बताए । अरबी भाषासमेत बोल्ने विकले लालुले निकै दुःख पाएको बताए । 'मालिकसँग कुरा गर्दा लालुलाई लैजाने हो भने कम्तीमा ६ हजार रियाल पठाऊ भन्छ,' विकले भने, 'अरू कुरा सुन्दै सुन्दैन ।' 

यामकुमारीका अनुसार ज्वाइँ प्रेम, कान्छो छोरा कर्णबहादुरलगायत गाउँका अन्य केही व्यक्ति साउदीमै भए पनि लालुलाई छुटाउन सकेका छैनन् । 'हामी यहाँबाट पैसा पठाउन तयार छौं,' उनले भनिन्, 'छोरी फर्केर आउने कुनै ग्यारेन्टी नभएकाले पठाउन सकेका छैनौं ।'

Published on: 27 December 2011 | Kantipur

Back to list

;