s

साउदीमा लाइसेन्सबिनाका नेपाली चालक

होम कार्की

चितवनका तिलक दवाडी साउदी अरबस्थित जेद्दाको सडकमा दिनहुँ १२ घन्टाभन्दा बढी गाडी हाँक्छन् । अचम्म ! खाडीको सबैभन्दा कडा कानुन भएको देश साउदीमा उनीसँग गाडी हाँक्ने लाइसेन्स नै छैन । बिनालाइसेन्स गाडी हाँक्दा हुन सक्ने परिणामबारे उनलाई राम्रो जानकारी छ । तैपनि जेद्दाको सडकमा उनले गाडी नहुइँक्याएको दिनै हुन्न ।

तिलक बिनालाइसेन्स गाडी हाँक्ने एक्ला होइनन् । उनले जस्तै गाडी हाँक्ने अरू ३० नेपाली पनि छन् । 'हामी एक वर्षदेखि लाइसेन्सबिना गाडी चलाउन बाध्य छौं,' फोनमा उनले भने, 'लाइसेन्स बनाइदिन कम्पनीलाई बारम्बार भन्दा पनि हाम्रो सुनुवाइ भएन ।
 
तिलकसँगै धनबहादुर राई, गोविन्द मुडवरी, रामप्रसाद कोइराला, पुण्यप्रसाद पौडेल, कृष्णबहादुर गुरुङ, डुब्लु चौधरीहरू जेद्दास्थित अमिर बिन एटेक (बिजिसी) कम्पनीका लागि गाडी चलाउँछन् । काठमाडौंस्थित मोभिरा ओभरसिज कम्पनीमार्फत त्यहाँ पुगेका उनीहरूले पहिले भनिएबमोजिम तलब सुविधासमेत पाएका छैनन् । 
 
'लाइसेन्स मात्रै होइन, परिचयपत्र (अक्कामा) समेत बनेको छैन,' उनले भने, 'यसरी बिनालाइसेन्स गाडी चलाउनुपर्दा एकपटक ५ सय रियाल -१० हजार रुपैयाँ) जरिवाना तिर्नुपरेको छ ।' फेरि कम्पनीले हरेक महिनाजसो अक्कामाका लागि भन्दै एक सय रियाल तलबबाट काट्दै आएको छ । 'मासिक पाउँदै आएको आठ सय रियाल तलब जरिवाना तिर्दा ठिक्क,' अर्काले भने, 'साँझ/बिहान केही नभनेर बगाएको पसिनाको अर्थ भएन ।' 
साउदीमा बिनालाइसेन्स गाडी चलाउनु कानुनको गम्भीर उल्लंघन हो । दुर्घटनामा परेर कसैको मृत्यु भए त्यस्ता चालकले ज्यान मुद्दा खेप्नुपर्छ । उनीहरूले म्यानपावरलाई यसबारे नबताएका होइनन् ।
 
पटक-पटक भनिरहेका छन्, 'लाइसेन्स बनाइदेऊ, तलब पूरा दिलाइदेऊ, उपचार खर्च र ओभरटाइम दिलाइदेऊ ।' तर म्यानपावरले यो नसुनिदिँदा १० जना चालक भागिसकेका छन् ।
 
असी हजारदेखि १ लाख १५ हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले आफूलाई उद्धार गरिदिन साउदीस्थित सामाजिक संस्थाहरूलाई हारगुहार गरिरहेका छन् । त्यसका लागि गैरआवासीय नेपाली संघ, साउदीले उद्धारका लागि पहल सुरु गरेको छ । संघका अध्यक्ष धरम केसीले भने, 'उहाँहरूको अवस्था निकै जोखिमपूर्ण छ । यस्तो अवस्थाबाट उद्धार गर्न हामीले दूतावाससमक्ष अनुरोध गरेका छौं ।' 
 
Published on: 13 March 2012 | Kantipur

Back to list

;