s

साउदीमा करीव ३ लाख नेपालीको अवस्था अज्ञात

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका मध्ये धेरै नेपालीको अवस्था अज्ञात देखिएको छ । साउदी अरबमा कार्यरत नेपाली संघ संस्थाहरुले साउदी अरबमा ६ देखि ७ लाख नेपाली कार्यरत रहेको अनुमान गरिरहेको अवस्थामा साउदी समाचारपत्र साउदी गजेटले नेपालीको सख्या ३ लाख ८० हजार मात्र रहेको देखाएको छ ।
 
गैरआवासीय नेपाली संघको श्रमिक टास्क फोर्सका पूर्व संयोजक धर्म  केसीका अनुसार आफूहरुले ६ देखि ७ लाख नेपालीहरू साउदीमा रहेको अनुमान गरिरहेकै बेला साउदी सरकारको रेकर्डमा भने आधा मात्रै नेपाली देखिनुले आगामी दिनमा नेपाली श्रमिकहरूका समस्या जटिल र पेचिलो बन्दै जाने संकेत देखाएको छ । सरकारी आँकडामा आप्रबासी कामदारहरूमध्ये नेपालीहरू साउदीमा सातौं ठूलो संख्यामा रहेको छन् ।
 
हाल साउदी अरबमा सबै भन्दा बढी भारतीय २२ लाख, दोश्रो ठूलो संख्यामा रहेका पाकिस्तानी १८ लाख, तेश्रोमा इजिप्सियन १० लाख, चौथोमा यमनी ७ लाख २० हजार, पाँचौमा फिलिपिनी ४ लाख ५० हजार, छैटौंमा सुडानी ४ लाख र सातौंमा नेपाली ३ लाख ८० हजार रहेको साउदी सरकारको तथ्यांक रहेको छ । हाल वैदेशिक रोजगार विभागमार्फत श्रम स्वीकृति लिएर संस्थागत तथा व्यक्तिगत र अवैध रुपमा गएका गरी दुइ हैसियतका नेपाली साउदी अरबमा रहेका छन् ।
 
वैधानिक रुपमा रहेका कामदार साउदी सरकारको रेकर्डमा रहने गरेका छन् भने भारतको बाटो भएर कुवेत हुंदै साउदी  पुग्ने घरेलु महिला कामदारहरू आवासीय अनुमति कार्ड इकामा पाउन नसकेका नयांँ कामदार, अकामा नवीकरण हुन नसकेका पूराना कामदार र कम्पनी छोडी भागेर काम गरिरहेका कामदारहरू सरकारी रेकर्डमा देखिँदैनन् ।  उनीहरुको हैसियत त्यहाँ रहँदासम्म अवैध नै रहने गरेको छ ।
 
यसैबीच रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २३ जना नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिन्स ईन्टरनेसनल प्रालिबाट सात महिना अघि साउदी अरब पुगेका ती नेपालीको बिचल्ली भएको हो । साउदी अरबस्थित इम्पोर्टर सोलुसन कन्ट्रयाक्टिङ एस्ट कम्पनीमा रोजगारी गर्न पुगेका ती नेपाली काम नदिँदा उनीहरुको बिचल्ली भएको हो । उनीहरुलाई कम्पनीले खाना र ज्याला नदिएपछि कष्टकर जीवन बिताउन बाध्य भएको बताएका छन् ।
 
Published on: 24 February 2018 | Madhyanha

Back to list

;