s

साउदीमा कामदार नपठाउन विभागकै अधिकारीहरुको आग्रह

नेपाली कामदारका लागि खाडीको सबैभन्दा पुरानो गन्तव्य साउदी अरबको रोजगारी पछिल्ला दिनमा सबैभन्दा संकटग्रस्त देखिएको छ ।  प्रयास गर्दा पनि कामदारका समस्या समाधान गर्न नसकेपछि सरकारी अधिकारीहरुले नै सकेसम्म साउदी अरबमा नेपाली कामदार नपठाउन  म्यानपावर कम्पनीलाई आग्रह गर्न थालेका छन् ।
 
सन् १९७५ को मार्च १५ मा नेपालसँग साउदी अरबको औपचारिक कूटनीतिक सम्बन्ध शुरु भएपछि उक्त मुलुकमा नेपाली कामदार जान थालेका हुन् । हाल नेपाली कामदारको गन्तव्यको चौथो स्थानमा रहेको साउदी अरब लामो समय सबैभन्दा बढी नेपाली जाने देशको अग्रस्थानमा रहेको थियो । पछिल्लो दिनमा कम्पनीहरुले करार बमोजिम काम, तलब र करार अवधि सकिएको ६ महिना वितिसक्दा पनि कामदारहरुलाई एक्जिट पर्मिट नदिँदा कामदार र कामदारका परिवार मात्र होइन उनीहरुलाई पठाउने म्यानपावर कम्पनी र सरकारी निकाय तनावमा देखिएका छन् ।
 
हाल वैदेशिक रोजगारमा साउदी समस्या सबैभन्दा पेचिलो अवस्थामा देखिएको सरकारी अधिकारीहरुको भनाइ छ । विभागका महानिर्देशक भुवन आचार्य भन्छन्, ‘मैल त सकेसम्म साउदी अरब कामदार नपठाउन म्यापावर कम्पनीका सञ्चालकहरुलाई आग्रह गर्न थालेको छु । रोजगारीका लागि साउदी पुगेको कामदारले डेढ महिना नपुग्दै फिर्ता गराइ दिन माग गर्न थालेका छन् । भीषा सकिएको ६ महिना भयो भन्नेहरु धेरै छन ।’
 
करिव ८ महिना श्रम तथा रोजगार मन्त्रालयको प्रवक्ता रहेका महानिर्देशक आचार्य गत फागुन १ गते विभागको जिम्मेवारीमा पुगेका हुन् । उनी भन्छन्– ‘तीन हप्ताको अवधिमा सबैभन्दा धेरै साउदीकै समस्यामा छलफल गर्नु परेको छ ।’
 
साउदी अरबमा नेपालीहरु विशेष गरेर अदक्ष, अर्धदक्ष तथा दक्ष उद्योग कामदारका रुपमा जाने गरेका छन् । सामान्यतया रोजगारदाता र कामदारबीच कामको प्रकृति, दैनिक कार्य घण्टा, करार अवधि, तलब–भत्ता, खाना, आवास सुविधा, औषधि उपचार, दुर्घटना बीमा, घर विदा आदि विषयमा पहिले देखि नै समस्या देखिएको हो । तर पछिल्लो पटक साउदीमा भनेको समयमा कामदार जान छोडेपछि कम्पनीले भीषा अवधि सकिएपछि पनि कामदारले पाउनु पर्ने तलब सुविधा र एक्जिट पर्मिट दिएका छैनन् । कम्पनीले भीषा र करार अवधिको समय सकिएको लामो समयसम्म पनि एक्जिट पर्मिट नदिँदा अधिकांश कामदारले अब म यतै मर्ने भएँ लौन उद्धार गर भन्दै परिवार र पठाउने म्यानपावर कम्पनीलाई दैनिक जसो तारन्तार टेलिफोन गर्ने गरेका छन् । समयमा तलव नपाउने त्यस्ता कामदारलाई नेपाली संघसंस्थाहरुले चन्दा उठाएर पाल्नुपर्ने अवस्था रहेको बताइन्छ ।
 
यस वाहेक करार पत्रमा सेल्स मेनको पद हुने तर, काम भने लोडरको लगाउने सम्झौतामा उल्लेख भएको भन्दा फरक प्रकृतिको काम दिने, तोकेको भन्दा बढी समय काम गर्नुपर्ने, ड्राइभरले भान्सा र सरसफाईको कामसमेत गर्नुपर्ने भन्दै उजुरी बढेका छन् ।
 
Published on: 10 March 2018 | Madhyanha

Back to list

;