s

साउदीमा गैरकानुनीलाई आममाफी

दिनेश रेग्मी

साउदी अरब सरकारले गैह्र कानुनी रुपमा देशमा रहेका आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) घोषणा गरेको छ । यो घोषणाबाट साउदीमा गैह्र कानुनी रुपमा कार्यरत करीब ७० हजार नेपालीलाई सुनौलो अवसर भएको  रियादस्थित नेपाली दुतावासले जनाएको छ । साउदीमा ५ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।

साउदीका श्रम मन्त्री अडेल फकेईले आइतबार सरकारले आममाफीको घोषणा गरेको जनाएका थिए । आममाफीबाट भागेर काम गरेका, परिचयपत्र (अकामा) र पासपोर्ट नभएका कामदारले बिना दण्ड स्वदेश फिर्तीको फाईदा उठाउन सक्नेछन् ।

'हाम्रो लागि यो सुनौलो अवसर हो' साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डले कान्तिपुरलाई भने,' यसबाट फाईदा लिन सकिएन भने ठुलो समस्या ब्यहोर्नुपर्छ ।' आममाफी भित्र अपराधिक कृयाकलापमा लागेकाहरु भने पर्दैनन् ।

दुतावासले गैह्र कानुनी रुपमा कार्यरत कामदार, जोसँग पासपोर्ट छैन, उनीलाई स्वदेश फिर्तीको लागि 'ट्राभल डकुमेण्ड' बनाइदिन्छ । साउदी सरकारले भर्खरैमात्र आममाफीको घोषणा गरेको हुँदा यसको प्रकृयाबारे विस्तृत जानकारी आई नसकेको दुतावासले जनाएको छ ।

Published on: 26 February 2013 | Kantipur 

Back to list

;