s

साउदीमा बन्धक महिलाको उद्धार

साउदी अरबमा चार महिनादेखि बन्धक एक महिला उद्धारपछि घर फर्केकी छन् । रोजगारका लागि साउदी पुगेकी तनहुँ, फिरफिरेकी ३१ वर्षीय लालु विश्वकर्मालाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी घर पठाएको हो । बन्धक भएको बारे समाचार सार्वजनिक भएपछि दूतावासले उद्धारको पहल थालेको थियो । 

घरेलु कामदारका रूपमा रियाद पुगेकी विक काम गर्ने घरमै बन्धक थिइन् । उनलाई छुटाउन घर मालिकले पटकपटक फोनमार्फत रकम माग्दै आएका थिए । साउदीमा २१ महिना बसेर फर्केकी उनकी साथी देवी विकले विदेश जाँदा राम्रो हुन्छ भन्दै फकाएकी र गाउँकै दलाल बाबुराम विकले भारतको नयाँदिल्ली हुँदै गत साउन १४ मा साउदी अरब पुर्याीएको लालुले बताइन् । 'सुरुमा बहराइन लैजाने भनेको तर पछि साउदी पुर्याेएको रहेछ,' उनले बुधबार सञ्चारकर्मीसँग भनिन्, 'केही समयपछि मालिकले तलाई २ लाखमा किनेको भनेपछि आफू बेचिएको थाहा भयो ।' आफूलाई अन्यत्र लैजान खोजिएको र जान नमानेपछि मालिकले कुटपिट गरी शारीरिक र मानसिक यातना दिएको उनले बताइन् ।

नेपाली कसैलाई पनि भेट्न नदिएको, मालिकका तीन दाजुभाइले पालैपालो यातना दिएको र यातनाबाट आफू शारीरिक रूपमा कमजोर भएको उनले बताइन् । 'प्रत्येक शुक्रबारमात्र केही खान दिने तर अरू दिन एउटा पाउरोटी मात्रै दिएर राख्यो,' उनले गहभरि आँसु पार्दै भनिन्, 'बाँचेर घर फर्कौंलाजस्तो लागेको थिएन । तर आज फर्किन पाएकोमा धेरै खुसी लागेको छ ।' साथीको प्रलोभनमा परेर आफूले निकै दुःख र सास्ती बेहोर्नुपरेको भन्दै उनले अरू दिदीबहिनीलाई यस्तो भोग्नु नपरोस् भन्ने कामना गरिन् ।

गत शुक्रबार साउदीबाट हिँडेकी उनी सोमबार घर आइपुगेकी हुन् । साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले प्रहरीको सहयोगमा लालुको उद्धार गरिएको बताए । 'मालिकको घरबाट उद्धार गरी दूतावासको सेल्टरमा केही दिन राखेर आवश्यक प्रक्रिया पूरा गरी घर पठायौं,' पाण्डेले भने । विश्वकर्माले उक्त घरमा नेपाली, भारतीय र श्रीलंकाका गरी ५ जना अझै बन्धक रहेको बताइन् । '५० वर्षीय वृद्धा पनि बन्धकमा छिन्,' उनले भनिन्, 'एकपटक भागेर हिँडेको तर लगत्तै मालिकले समातेर राख्यो ।' लालुले लहलहैमा दुःख पाएको भन्दै स्वदेशमै केही गर्न अनुरोध गरिन् । नबुझेसम्म आफन्तको पनि भर पर्न नहुने भन्दै उनले अब दलालविरुद्ध कारबाही अघि बढाउने बताइन् ।

लालुका ९ र ५ वर्षका छोरी छन् । उनका श्रीमान् पनि साउदीमै छन् । उनी श्रीमान्सँग सल्लाह नगरी गएकी थिइन् । लालुकी आमा यामकुमारीले भदौदेखि छोरीलाई फर्काउने प्रयास बल्ल सफल भएको भन्दै खुसी व्यक्त गरिन् । उनी छोरी छुटाउन १ लाख २० हजार ऋण खोजेर काठमाडौंसम्म पुगेकी थिइन् । 'पैसा पठाउने प्रक्रियामा रहेका बेला छोरी आई,' उनले भनिन्, 'अरूले भनेकै आधारमा नजानी, नबुझी जाँदा मेरी छोरीले जस्तो दुःख अरूले नपाओस् भन्ने कामना गर्छु ।'

दुलेगौंडाकी अगुवा महिला जमुना पौडेलले अशिक्षा, चेतना अभाव तथा प्रलोभनमा लालुजस्ता थुप्रैले पीडा भोग्नुपरेको भन्दै लहलहैमा विदेश जान नहुने सन्देश मिलेको बताइन् । 

लालुका आफन्त तिलबहादुर विकले बन्धक भएको थाहा पाएपछि सञ्चार माध्यम र परराष्ट्र मन्त्रालयमा पुगी मुक्त गर्न सहयोग गरेका थिए ।

अर्की युवती पनि बेपत्ता

यसैबीच दुलेगौंडा ८, सिमलचौरका टीकाराम विककी २६ वषर्ीया छोरी सुनिता पनि २५ महिनादेखि बेपत्ता भएको आफन्तले बताए । २०६६ मंसिरमा विदेश जाने भएँ भन्दै सबै आफन्तको टेलिफोन नम्बर लिएर गएकी सुनिता अहिलेसम्म सम्पर्कमा नआएको कान्छीआमा रुकमायाले बताइन् । बाबुले दुई विवाह गरेका र आमा पनि मानसिक रूपमा कमजोर भएपछि सुनिता पोखराको नदीपुर मामाघर बस्दै आएकी थिइन्।

Published on: 19 January 2012 | Kantipur 

Back to list

;