s

साउदीमा ‘बन्धक’ छोरीको बाटो कुरिरहेकी आमा

मनोज पौडेल 

कपिलवस्तु — दाहिने खुट्टा फ्र्याक्चर भएपछि उनी हिँडडुल गर्न सक्दिनन् । घस्रेकै भरमा दिसापिसाब गर्न शौचालयसम्म पुग्छिन् । उनको स्याहारकै लागि परिवारका एक जना खटिनुपर्छ । दिनभरजसो घरको पिँढीमा बस्छिन् र टाढा क्षितिजतिर एकटकले नियालिरहन्छिन् । गाउँमा नयाँ महिला आउनासाथ जीउ उचाल्दै टाउको यताउति फर्काउँदै हेर्छिन् ।

वाणगंगा नगरपालिका–१ बुङ्ची मर्थीटोलकी ७९ वर्षीया नरी बलामीको दैनिकी चार वर्षयता यसरी नै बितिरहेको छ । २०७२ सालमा वैदेशिक रोजगारीका क्रममा हिँडेकी छोरी अहिलेसम्म नआउँदा उनी निस्ताएकी छन् । ‘दुई वर्षमा आउँछु, चिन्ता नलिई बस्नु भनेर गएकी,’ उनले भनिन्, ‘कस्तो अभागी रै’छु । अहिले त उसलाई घरमै थुनेर राखेको छ रे ।’ कोही घर पुग्नासाथ उनी छोरीकै बारेमा कुरा गर्छिन् । गहभरि आँसु झार्छिन् र बेला–बेला भक्कानिन्छिन् । हजुरआमाको आँसु देखेर दुई नाति नरमाइलो मान्छन् । 

५४ वर्षीया छोरी गिरीकला बलाल घरेलु कामदारका रूपमा दुबई गएकी थिइन् । चार वर्षयता भने उनलाई साउदी अरबको अल्गामीअमरका डफलाअली हुसेनले घरमै बन्धक बनाएर राखेको परिवारको गुनासो छ । उनीहरूका अनुसार हुसेन सेवा निवृत्त सुरक्षाकर्मी हुन् । अहिले उनी त्यहाँ तरकारी खेती गरेर बसेका छन् । २०७२ फागुनमा घरेलु कामदारका रूपमा दुबई गएकी उनलाई त्यहाँबाट उनलाई एक महिलाले किनेर कुवेत लगेको उनका कान्छा छोरा चूडामणिले बताए । ‘कुवेतबाट फेरि ती महिलाले साउदी अरब बस्ने बहिनीलाई बेचेको थाहा पायौं,’ उनले भने, ‘घरमा आमालाई घरेलु कामदारका रूपमा लगेछन् ।’ 

गाउँकै एजेन्ट युवराज अर्यालमार्फत गिरीकला काठमाडौंबाट विदेशिएकी थिइन् । ‘पछि राम्रो होला भनेर सुरुमा दुःखकष्ट सहेरै आमा बस्नुभयो,’ जेठा छोरा कृष्णले भने, ‘त्यसपछि पनि कष्टका दिन थपिँदै गए । पछिल्लो दुई वर्षदेखि त पीडा र तनाव दिएर राखिएको रहेछ ।’ परिवारका अनुसार उनी मासिक १ हजार २ सय रियाल पाउने भनेर गएकी थिइन् । ‘दुई वर्षयता एक पैसा पनि दिएका रहेनछन्,’ कृष्णले भने, ‘घरबाहिर निस्कन दिएका छैनन् ।’ तलब माग्दा जिब्रो काटेर फाल्ने धम्की दिने उनले पठाएको एक भिडियो सन्देशमा छ । मालिकले यातना दिने, धम्की दिँदै मारेर फालिदिन्छु भन्ने गरेको परिवारसँग दुखेसो पोख्ने गरेकी छन् । ‘सुगर रोगको बिरामी छु । औषधि पनि नियमित ल्याइदिँदैनन्,’ उनले भनेकी छन्, ‘अस्पताल बन्द छ भनेर ढाँट्छन्, सुगरले थलिँदै गएकी छु ।’

सहजै कुराकानी गर्न नदिए पनि लुकीचोरी इन्टरनेटका माध्यमबाट कहिलेकाहीँ कुराकानी हुने गरेको छोराहरूले बताए । ‘घरपरिवार र छोराछोरीको सुखका लागि गएकी थिएँ,’ अनलाइन संवादमा उनले भनिन्, ‘कुकुरले नपाउने दुःख पाएकी छु ।’ एक पटक आफूले काम गरेको पैसा माग्दा झगडा भएको उनले सुनाइन् । ‘घर मालिकले अनकन्टार ठाउँमा आफ्नो सालाकहाँ छाडेर फर्के,’ उनले भनिन्, ‘झन्डै १५ दिन त्यहाँ बसेपछि फेरि फिर्ता लिएर गएका थिए ।’ गिरीकला पढेलेखेकी छैनन् । अंग्रेजी बुझ्दिनन् । साउदी भाषा पनि जान्दिनन् । ‘भागेर पनि कहाँ जाऔं ?’ उनले भनिन्, ‘चारैतिर पहाडै पहाड छ । म बसेको ठाउँमा भाडाका बस, जिप चल्दैनन् ।’ 

आमाको उद्धार गरिदिन छोराहरूले दुई महिनाअघि जिल्ला प्रशासन कार्यालयमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । बुबाको निधनपछि जीवनयापन गर्न धौधौ भएपछि आमा विदेशिनुपरेको चूडामणिले बताए । ‘आमाले कमाएर पठाएको पैसाले नै दुई कोठे पक्की घरलाई चार कोठे बनाएका छौं,’ उनले भने, ‘पैसा पठाउन छाडेपछि जेठा दाजु ज्याला मजदुरी गर्न जान्छन्, म दिनभरि काम खोज्दै भौंतारिन्छु ।’ सम्पत्तिका नाममा उनीहरूको दुई कट्ठा जमिन छ । ‘त्यसको उब्जनीले दुई महिना पनि खान पुग्दैन,’ उनले भने ।

Published on: 10 March 2022 | Kantipur

Link

Back to list

;