s

साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल

सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ।

कोठामा गम्भीर अवस्थामा छट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उद्धारमा जुटेका हुन्।

राना पीडाले छट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि हिजाे रियादस्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो। टोलीले उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ। दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो।

आठमध्ये एकजना नेपाल फर्किसकेका छन्। अन्य छ जना मङ्गलबार नेपाल फर्कनेछन्। रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उजुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ।

राना बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आज नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो। उपचारपश्चात् रानाको स्वास्थ्यावस्था सामान्य रहेको छ।

Published on: 24 January 2022 | Nagarik

Link

Back to list

;