s

साउदीमा अलपत्र नेपाली घर फर्किए

रोजगारदाता कम्पनीले महिनौंदेखि तलब, पासपोर्ट र अकमान दिएपछि साउदी अरबमा अलपत्र नेपालीहरु स्वदेश फर्कन सफल भएका छन्। गत सेप्टेम्बरदेखि साउदी अरबको वादी दोस्सारमा सईद हादीअल दोस्सरी कन्ट्राक्टिङ इस्ट कम्पनीले सम्झौता अनुसार तलब र सुविधा नदिएको र सम्झौताअवधि समाप्त भएको डेढ वर्षसम्म पनि पासपोर्ट र एक्जिट भिसा नदिँदा ५४ नेपाली कामदार अलपत्र परेका थिए।

अलपत्र नेपालीबारे नागरिक दैनिकमा सेप्टेम्बर १० र अक्टोबर २९ मा समाचार प्रकाशित भएपछि यहाँस्थित दूतावासले समस्या समाधानको पहल गरेको थियो। दूतावासका श्रम सहचारी कृष्ण दवाडीको नेतृत्वमा दोभाषेसहितको टोलीले श्रम अदालतमा उनीहरुको समस्या समाधानको लागि पहल गरेको थियो। श्रम अदालतले कम्पनीलाई 'उनीहरुको हरहिसाव भुक्तान गरेर तुरुन्त नेपाल फर्काउनू' भन्ने आदेश दिएपछि कम्पनीले पासपोर्ट र अकमान (आवासीय अनुमति कार्ड) फिर्ता दिनुका साथै एक्जिट भिसा दिएको हो।

श्रम अदालतको आदेशपछि उनीहरु नोभम्बर ६ देखि नेपाल फर्कन थालेका छन्। कम्पनीले उनीहरुलाई पहिलो चरणमा ४ जना, दोस्रो चरणमा २३ जना र तेस्रो चरणमा २१ जना गरी जम्मा ४४ जनालाई नेपाल जान एक्जिट भिसा उपलब्ध गराएको थियो। बाँकी रहेकालाई नेपाल फर्कन चाहे फर्कन दिने सहमति भएको श्रम सहचारी दवाडीले बताए।

उनीहरुले कम्पनीसँग आफूले पाउनुपर्ने सम्पूर्ण तलब भुक्तानी पाए पनि नेपाल फर्कने हवाई टिकटको खर्च भने आफैँले व्यहोरेका छन्।

Published on: 9 November 2014 | Nagarik News

 

 

Back to list

;