s

साउदीमा अलपत्र क्षेत्रीलाई सहयोग

विष्णु घिमिरे

साउदी : १२ वर्षदेखि साउदी अरेबियामा अलपत्र परेका बुटवलका दामोदर क्षेत्रीका लागि दूतावासको सहकार्यमा ४० हजार रियाल जुटेको छ। साउदीमा रहेका विभिन्न भातृसंगठन, एनआरएन तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहयोगमा सो रकम उठेको हो।

पीडित क्षेत्रीका लागि आवश्यक ७९ हजार साउदी रियालमध्ये ४० हजार उठेको छ। पीडित दामोदर भन्छन् ‘घरायसी अवस्था निकै दयनीय छ, बाँकी रकम उठाउन व्यक्तिगत रूपमा असमर्थ रहेकाले थप आवश्यक रकमका लागि साउदीलगायत विभिन्न राष्ट्रमा कार्यरत रहेका नेपालीलाई सहयोग गर्न आह्वान गर्छु।’ दामोदर क्षेत्रीका बारेमा अन्नपूर्ण पोस्ट दैनिकमा २०७८ पुस ११मा समाचार प्रकाशित गरिएको थियो।

वैदेशिक रोजगारका क्रममा साउदी अरेबिया पुगेका बुटवल ४ का दामोदर क्षेत्री १२ वर्षदेखि साउदीमा अलपत्र छन्। २०६८ असारमा उनी ड्राइभर भिसामा साउदी गएका थिए। हातमा सीप भएका क्षेत्रीले ड्राइभर भिसा परिवर्तन गर्न कम्पनीमा अनुरोध गरे। कम्पनीले २५ सय साउदी रियाल मागेपछि कार्यरत कम्पनीबाट भागेर २०६९ सालमा हमद साउद अल हाजीरी कम्पनीमा ड्राइभरको काममा लागे।

काम गर्दै जाँदा आफूले चलाएको गाडी दुर्घटनामा पर्‍र्यो। दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भयो। दुर्घटनामा परेका दुबै गाडीहरू जलेर नस्ट भए। दामोदर पनि पक्राउ परे। तीन महिना जेल बसे। जेलबाट निस्किएपछि पुनः कम्पनीको काममा फर्किए।

तर, कम्पनीले दामोदरसँग दुर्घटनामा जलेको गाडीको क्षतिपूर्ति रकमस्वरूप ७९ हजार साउदी रियाल (लगभग २४ लाख ८० हजार) नेपाली रूपैयाँ माग गर्‍यो। दामोदरले सो रकम तिर्न नसकेपछि सम्बन्धित कम्पनीले दुई वर्षपछि जेल चलान गर्‍यो। तर, दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकको तर्फबाट भने कुनै उजुरी परेन।

२०७४ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका क्षेत्री २०७८ फागुनमा छुटे। ४ वर्ष जेल सजाय कटाइसकेका क्षेत्रीले हालसम्म सो रकम तिर्न सकेका छैनन्। रकम अभावले उनी साउदीमा अलपत्र छन्।

Published on: 17 October 2022 | Annapurna Post

Link

Back to list

;