s

साउदीमा अलपत्र

बर्दियाको गुलरियाका त्रिवेणी मल्लाह ९ महिनादेखि साउदी अरबमा अलपत्र परेका छन् । उनी कार्यरत कम्पनीले कागजात जफ्त गरेर पारिश्रमिकसमेत रोकेको छ ।
 
उनी वैदेशिक रोजगारीका लागि दुई वर्षअघि साउदी पुगेका थिए । श्रम स्वीकृति घर्किंदै गर्दा घर फर्किने तयारी गरिरहेका बेला कम्पनीले सबै कागजात नियन्त्रणमा लिएको पत्नी रेखाकुमारीले बताइन् ।
 
‘दुई वर्ष पुग्न थालेपछि श्रीमान् घर फर्किने तयारीमा हुनुहुन्थ्यो । कम्पनीले सबै कागज नियन्त्रणमा लिएपछि फर्किन सक्नुभएन । अहिले भिसा अवधि सकिएको छ,’ पतिको उद्धारका लागि गुहार गर्न नेपालगन्ज आएकी उनले भनिन्, ‘कागजात नभएका कारण घर फर्किन सक्नुभएको छैन । उद्धारका लागि सरकारलाई भनिदिनुस् ।’
 
उनका पति ‘मसुद सिड जनरल कन्सल्टेन्सी कम्पनी’ मार्फत साउदी गएका हुन् । विदेश जाँदा उनले सबै कानुनी प्रक्रिया पूरा गरेका छन् । काम गर्ने कम्पनीले कागजात कब्जामा लिएका कारण समस्यामा छन् । दैनिक फोन गरेर उद्धारका लागि पहल थाल्न आग्रह गर्दै आएका छन्, मल्लाह ।
 
‘उहाँ नौ महिनादेखि रोएरै बस्नुभएको छ । काम गरे पनि पारिश्रमिक पाउनुभएको छैन । कागज नभएका कारण बन्धकझैं बस्नुपरेको छ,’ दुई वर्षीय छोरा बोकेर आएकी रेखाले भनिन्, ‘पैसा कमाएर परिवार पाल्न साउदी जानुभयो । उतै अलपत्र परेपछि घरपरिवारमा तनाव छ ।’
 
उद्धारका लागि रेखाले मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) नेपालगन्जमा निवेदन दिएकी छन् । उक्त संस्थाले वैदेशिक रोजगारीका क्रममा ठगिएका नेपालीलाई नि:शुल्क कानुनी सहयोग गर्दै आएको छ । फोरमले उद्धारका लागि सरकारसँग पहल सुरु गरेको जनाएको छ ।
 
अधिवक्ता सोम लुइँटेलले साउदीमा अलपत्र मल्लाहको उद्धारका लागि पहल थाल्ने बताए । ‘उद्धारका लागि सरकारसँग समन्वय गरिरहेका छौं । उहाँको उद्धारका साथै क्षतिपूर्तिका लागि कानुनी पहल गर्छौं। कागज नियन्त्रणमा लिने कम्पनीबिरुद्ध अदालत जान्छौं।’
 
Published on: 27 March 2018 | Kantipur

Back to list

;