s

साउदीमा आममाफी

होम कार्की

साउदी अरबले गत शुक्रबारबाट लागू हुने गरी गैरकानुनी कामदारलाई आममाफी दिएको छ । यसले गैरकानुनी कामदार स्वदेश फिर्न वा साउदीमै कानुनी हैसियतमा रहन पाउने भएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार सबै प्रकारका गैरकानुनी कामदारलाई सम्बोधन गर्ने गरी दिइएको यो आममाफी जुलाई ३ सम्म लागू हुनेछ । यसबाट अनुमानित ७० हजार नेपालीलाई राहत मिल्न सक्ने दूतावासले जनायो । घर फिर्न नपाएर वषौर्ंदेखि साउदीमै अड्किएका नेपाली कामदारमाझ यो खबरले उत्साह छाएको छ । साउदीका श्रममन्त्री आदेल फाकेहीको गत २५ फेब्रुअरीमा आममाफी दिने घोषणा गरे पनि आन्तरिक तयारी पूरा नभएपछि तत्काल कार्यान्वयन गरिएको थिएन । साउदीको खराब सूचीमा परी 'एक्जिट' अनुमतिपत्र नपाई अलपत्र नेपाली घर फिर्न पाउने छन् ।

'घर फिर्न यो एक वर्षमा सयौं पटक दूतावास पुगेको थिएँ,' चार वर्षदेखि त्यहाँ कार्यरत धनकुमार वलीले भने, 'अब स्वदेश फिर्न पाउने आशा बढेको छ ।' दूतावासका अनुसार अब कम्पनी परिवर्तन गरेर गैरकानुनी रूपमा काम गरिरहेकाले आफूसँग राहदानी भए पहिलेको रोजगारदाताको स्वीकृतिबिनै 'स्पोन्सरसिप' परिवर्तन गर्न पाउने छन् । यसैगरी, उनीहरूले पुरानै रोजगारदाताकामा काम गर्न सक्ने, घरेलु कामदारले वैधानिक कम्पनीमा स्पोन्सरसिप परिर्वतन गरी काम गर्न पाउनेलगायत व्यवस्थासमेत गरिएको छ । नेपालबाट सीधै रोजगारदाताकामा नगई अरू कम्पनीमा गएकाले पनि दूतावासबाट पास बनाई स्वदेश फिर्न पाउने छन् । नेपालमा म्यानपावरसँग गरेको सम्झौताअनुसार रोजगारदाता कम्पनीले दिने कामको प्रकृति, तलब, समय फरक पर्दा र तत्कालै स्वदेश फिर्न नसक्ने स्थिति देखेपछि कामदार भाग्ने प्रवृत्ति छ । र्फकनैका लागि पनि जेल पस्नुपर्ने व्यवस्था छ । साउदीमा हरेक वर्षजसो करिब ६ हजार नेपाली जेल बसेर घर जान्छन् ।

Published on: 15 May 2013 | Kantipur

Back to list

;