s

साउदीमा ६ महिनादेखि ११ नेपाली अलपत्र, उद्धारको पर्खाइमा

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका ११ नेपाली ६ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौता अनुसार १०००‌+२०० साउदी रियलमा उनीहरू रिअदा मेन्टिनियस किल्निक कम्पनीमा क्लिनर काम गर्न काठमाडौंमा रहेको मेचि ओभर्सिस मेनपावरबाट गत २२ जुन २०२३ मा साउदी पुगेका थिए।

सम्बन्धित कम्पनीले सुरुमा ३ महिनाको लागि २०० रियल खान र बस्न दिएको पीडितहरुको भनाइ छ। 'आएको १ महिनासम्म पनि कम्पनीले काममा नलगाउने र विभिन्न बहान बनाउने गरेकोले हामीले सम्बन्धित लिडरलाई सूचना गर्दा सिधा कम्पनी नपरी सप्लायर्स कम्पनी रहेको थाहा पायौं। त्यसपश्चात् आएको मेनपावरलाई खवर गर्दा राम्रो हुन्छ, काम हुन्छ भन्दा भन्दै ६ महिना भयो र हालसम्म पनि अकामा नबनेकोले हामी अवैधानिक रुपले बस्नु परेको छ।', एक पीडितले भने।

उनीहरुका अनुसार अलपत्र परेको खवर परिवार तथा वैदेशिक रोजगार विभागमा दिएलगत्तै पुन कम्पनीले ३ महिना यता ४ सयको दरले खान बस्न दिएको छ। अहिले कम्पनीले काम गर बेसिक तलव नदिने तर खाने पैसा दिने भनेको छ। यसले उनीहरुमा थप तनाव उत्पन्न भएको र अलपत्र पर्ने अवस्था रहेको बताए ।

उनीहरुले आफूहरुलाई सम्झौताअनुसारको काम नदिए स्वदेश फिर्ता गराउन आग्रह गरेका छन्। त्यस्तै उक्त कम्पनीको लागि थप १२ जना टारगेट मेनपावरबाट समेत आएका र सम्झौता अनुसार सेवा सुविधा नपाएर अलपत्र परेका पीडितहरु बताउँछन्।

उनीहरूले प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाखसम्म बुझाएका थिए। मेनपावरमा कार्यरत राजकुमार चौधरीलाई लाई १ लाख ७० हजार रुपैयाँ अन्यलाई ३० हजार रुपैयाँ बुझाएको पीडितहरूको भनाइ छ। मेनपावरले ‘सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधा प्राप्त हुनेछ’ भनेको उनीहरू सुनाउँछन्।

अलपत्र पर्नेमा रोल्पाका बसन्त गिरी, म्याग्दीका जंगबहादुर बिक, सुनसरीका बिष्णु चौधरी, प्रभु राव, सुरेश चौधरी, झापाका अर्जुन ताजपुरिया, सल्यानका टोपी कामी, धनकुटाका पृथ सिहं राई, ओखलढुङ्गाका ईबु भुजेल, रहेका छन् भने पीडित ११ जनामध्ये ९ जनाले पीडितले नेपाली दुतावास रियादमा उद्धार सहित क्षतिपूर्तिका लागि लिखित रुपमा निवेदन दिएका छन्।

घटनाको जानकारी रियादस्थित नेपाली राजदूतावासलाई दिइएको छ। दूतावासले सम्बन्धित मेनपावर र कम्पनीसँग छलफल गरी कामदारलाई सम्झौताअनुसार काम र सेवासुविधा दिनको लागि भनेको छ। सम्झौताअनुसार कामदारलाई काम र सेवासुविधा दिन नसके तत्काल स्वदेश फिर्ता पठाउने अल्टिमेटमसमेत उसले दिएको छ।

रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर, सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा र मेनपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्। समयमा तलब पाउँदैनन्। अकामा कार्ड, इन्स्योरेन्स कार्ड तथा अन्य सेवासुविधासमेत पाउँदैनन्। जुन कारण कामदार कम्पनी छोडेर भाग्ने क्रमसमेत बढ्दो छ।

Published on: 4 January 2024 | Annapurna Post

Link

Back to list

;