s

साउदीमा ५० नेपाली अलपत्र

 
बागलुङ-रोजगारीका लागि साउदी अरब पुगेका नेपाली कामदारले आफूहरू त्यहाँ अलपत्र परेको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् । साउदीको मोहम्मद अल्पोजिन कम्पनीमा कार्यरत नेपाली युवाले चाहेर पनि स्वदेश फर्कन नपाएपछि सरकार गुहारेका हुन् ।
५० नेपाली युवा आठ महिनादेखि उक्त कम्पनीमा बन्दीझैं बसिरहेको पीडितले गुनासो गरे । स्वदेश फर्किने व्यवस्था मिलाइदिन साउदीस्थित नेपाली दूतावासलाई आग्रह गरे पनि बेवास्ता गरेको उनीहरूको भनाइ छ । पीडितका अनुसार उक्त कम्पनीले सात वर्षदेखि तलब दिएको छैन । घर फर्कन्छु भन्दा पनि कम्पनी सञ्चालकले कागजात फिर्ता दिन मान्दैनन् ।
 
भारत र फिलिपिन्सका कामदारलाई उनीहरूका सरकारले फिर्ता लगिसकेकोमा आफूहरूले पटक–पटक नेपाली दूतावासमा गुहार गर्दा सुनुवाइ नभएको बागलुङ, छिस्ती–८ का हेमराज पौडेलले बताए । 'एक वर्षदेखि तलब दिएको छैन,' उनले टेलिफोनमा भने, 'घर फर्किन्छौं भन्दा कम्पनीले कागजात पनि दिँदैन ।' पौडेलका अनुसार उक्त कम्पनीले ती कामदारलाई बिहान–बेलुका खान दिए पनि बन्धककै रूपमा राखेको छ ।
 
अर्का पीडित सल्यान, कालागाउँ–३ का धनबहादुर बस्नेतले नेपाली दूतावासको गैरजिम्मेवारीका कारण आफूहरू समस्यामा परेको बताए । उनी उक्त कम्पनीमा झन्डै १० वर्षदेखि छन् । आफ्नै खर्चमा फर्कन्छु भन्दा पनि कम्पनीले कागजात नदिएको उनको गुनासो छ । 'चार वर्षदेखि घर गएको छैन,' साउदीबाट बस्नेतले टेलिफोनमा भने, 'न कम्पनीले घर फर्किने कागज दिन्छ न त दूतावासले पहल गर्छ ।' उक्त कम्पनीमा ५० नेपाली युवा बन्दीका रूपमा बसिरहेको उनले बताए । 'बाहिर निस्किए प्रहरीले पक्राउ गर्छ,' उनले भने, 'घरभित्रै खुम्चिरहनुपर्ने बाध्यता छ, आठ महिनादेखि यसै गरी बसिरहेछौँ ।' दूतावासले एक–दुई हप्तामा नेपाल पठाउँछौं भन्दै टारिरहेको उनीहरूको गुनासो छ ।
 
मोहम्मद अल्पोजिन कम्पनी घाटामा गएर बन्द हुने अवस्थामा रहेकाले आफूहरूले तलब पनि नपाएको पीडितले बताए ।
 
घरव्यवहार धान्न बिदेसिएका युवा घर नफिर्दा आफन्त पनि चिन्तामा छन् । धनबहादुरकी पत्नी कौशिला पनि तिनैमध्ये एक हुन् । 'तीन वर्षदेखि पैसा पनि आएको छैन,' उनले टेलिफोनमा नागरिकसँग भनिन्, 'पैसा कमाउन गएको मान्छे अलपत्र परेपछि दुई छोरा पढाउन र घर व्यवहार चलाउन समस्या छ ।'
 
पति चाहेर पनि घर आउन नपाएको कौशिला बताउँछिन् । 'मेरो श्रीमान्लाई सरकारले नेपाल फर्काइदिने व्यवस्था मिलाइदिओस्,' उनले भनिन्, 'आठ महिनादेखि अलपत्र छु भन्नुहुन्छ ।'
 
हेमराजका दाजु योगराज पौडेलले दूतावासमा उजुरी गर्दा पनि भाइको उद्दार नभएको भन्दै आक्रोश पोखे । 'आठ महिनादेखि भाइ घर आउन खोजिरहेको छ,' उनले भने, 'लामो समय काम गरेको कम्पनीले काजगात नबनाइदिएका कारण उनीहरू बन्दीझैं त्यहाँ थुनिएका छन् । दूतावासको गैरजिम्मेवारीले अलपत्र परे ।'
 
Published on: 6 January 2016 | Nagarik

Back to list

;