s

साउदीमा ४२ दिनमा ३८ जना नेपालीको मृत्यु

साउदी : साउदी अरेबियास्थित नेपाली दूतावासले ४२ दिनमा ३८ जना नेपालीको मृत्यु भएको जनाएको छ।

दूतावासले साउन १ गतेदेखि भदौ १० सम्ममा विभिन्न कारणले साउदीमा ३८ जना नेपाली कामदारको मृत्यु भएको जनाएको छ। गत साता दूतावासले गरेको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजागारीका लागि साउदी पुगेका ३८ नेपालीको सडक दुर्घटना, आत्महत्या र प्राकृतिक रूपमा मृत्यु भएको जनाएको हो।

कार्यक्रममा श्रम सहचारी देवेन्द्र कार्कीले वैदेशिक रोजगारका क्रममा साउदीमा ४ लाख नेपाली कामदार रहेको बताए। जसमध्ये ४७० जना जेलमा छन्। ११ हजार १३६ जना गैरकानुनी रूपमा बसोवास गरिरहेका छन्। घरेलु कामदारका रूपमा काम गर्नेको संख्या ७९४ पुगेको छ। महिला कामदार मात्रै साउदीमा ४ हजार १७९ जना छन्। विभिन्न मुद्दा लागेका १७७ जना नेपाली साउदीमा छन्।

दूतावासका अनुसार अलपत्र परेका श्रमिकको अपेक्षा धेरै रहेको देखिन्छ। तर दूतावासको जनशक्ति, स्रोत साधनको कमीले सम्भावना केही मात्रामा देखिन्छ। दूतावासले एक कर्मचारी बराबर ४८ हजार नेपाली कामदार हेर्नुपर्नेमा अवस्था छ।

दूतावासका द्वितीय सचिव टिकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकोले यसलाई समाधान गर्न खानपिन र स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह गरे। नेपालीको शव नेपाल पठाउन कम्तीमा एक महिना लाग्ने उनको भनाइ थियो।

राजदूत नवराज सुवेदीले उपस्थित व्यक्तिले सोधेका प्रश्नको जवाफ दिँदै नेपाली कामदारको समस्या समाधानका लागि अवस्था परिवर्तन हुन जरुरी रहेको बताए । उनले समुदाय बीच श्रमिक समस्याका बारेमा विषय केन्द्रित, औपचारिक र सन्देशमुलक कार्यक्रम हुनुपर्ने र दूतावासले यस्ता कार्यक्रम साउदीको विभिन्न शहरमा गर्दै जाने बताए।

एनआरएन रियाद आरसीसी अध्यक्षय महेश घिमिरेले हालै १३ जना अलपत्र परेका नेपालीलाई खाद्यान्न वितरण गर्नुका साथै ३ जनालाई स्वदेश फिर्ताका लागि हवाई टिकटको व्यवस्था गरेको बताए।

Published on: 8 September 2023 | Annapurna Post

Link

Back to list

;