s

साउदीमा ३० लाख संकलन

साउदी अरेबिया : कोरोनाबाट संक्रमित नेपालीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरलगायत विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न गैरआवासीय नेपाली संघ एनआरएन साउदीले ३० लाख रुपैयाँ संकलन गरेको छ।

एनआरएन मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालका अनुसार कोरोना संक्रमित नेपालीले  उपचारको क्रममा अक्सिजन तथा आवश्यक स्वास्थ्य सामग्री नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै मानव रक्षाको लागि थप एनआरएन मध्यपूर्व क्षेत्रबाट अनुमानित १ करोड २५ लाख रकम संकलन हुने जानकारी उनले गराए। रकम संकलनमा सहयोग गर्ने विभिन्न सामाजिक संघसंस्था, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूलाई समेत उनले धन्यवाद दिए।

एनआरएन साउदीले उठेको रकम आईसीसीद्वारा परिचालित कोरोना बैंक खातामा जम्मा गरिदिने निर्णय गरेको छ। साथै यसअघि एनआरएन मध्यपूर्वले सरकारलाई सहयोग स्वरूप पाँच सय ६० अक्सिजन सिलिन्डर सहयोग गरेको थियो। सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूको नामावली  रकमसहित संस्थाको पेजबाट सार्वजनिक गरेको छ।

एनआरएन साउदीले हालसम्म कोरोना भाइरसबाट अलपत्र परेका चार  सय ९०  जनालाई खाद्यान्न सहयोग, एक सय २९  जनालाई  स्वदेश फिर्तामा पीसीआर टेस्टिङ,  एक सय एक जनालाई हवाई टिकट तथा आठ सय ६८  जनालाई  पासपोर्ट नवीकरण सहजीकरणलगायत साउदीका विभिन्न सहरमा सेन्टरको व्यवस्थापनसहित  एक  लाख ९९  हजार ७  सय ११  साउदी रियाल सहयोग गरेको छ।

एनआरएन साउदीले साउदीका विभिन्न सहरमा क्षेत्रीय तथा स्थानीय तहको अधिवेशन सुरु गर्नुका साथै ३१ जुलाई २०२१ भित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

साउदीका लागि नेपाली राजदूत डा.महेन्द्र राजपुत सिंहलाई बिदाइ कार्यक्रम समेत गरेको छ। राजदूत सिंहे जेठ १८ गते आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने भएका छन्।

Published on: 1 June 2021 | Annapurna Post

Link

Back to list

;