s

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी : नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपार्इं ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ। कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला।

तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ। तपाईंको नामबाट अरू कसैले सिमकार्ड निकाल्यो भने पनि जरिबानाको फन्दामा पर्नुहोला। यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले ठूलो जरिबाना तिर्नुपर्ने भएको छ। उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ (८६ लाख ९० हजार साउदी रियल) जरिबाना तोकिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली कामदारको मुख्य आकर्षक मानिन्छ, साउदी। यहाँका नीति र नियमको पालना नगर्दा कमाउन आएका नेपाली कामदारहरू उल्टै जरिबाना तिर्नुपर्ने अवस्थामा पुगेका छन। खाडी मुलुकमध्ये नेपालीका लागि दोस्रो ठूलो मुलुकमा पर्छ, साउदी। साउदीमा आउने नेपाली कामदारको संख्या र माग धेरै छ। तर, नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा र सुविधामा निकै भिन्नता हुने गर्छ। ‘फ्रि भिसा फ्रि टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाख देखि २ लाखसम्म उठाउने गर्छन्।

अर्कोतिर नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवासुविधा पाइँदैन। त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन्। त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन्। अनि, सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिबाना तिर्न बाध्य बनाउने गरेका छन्। सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले प्रत्येक व्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिबाना तोकेर मुद्दा दायर गर्छन्। कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिबाना बढ्दै जान्छ।

अर्कोतिर, वैधानिक रूपमा कार्यरत नेपालीले पनि आफ्नो ‘अकामा आईडी’बाट साउदीमा मोबाइल सिम किन्ने र त्यस्ता सिम अरूलाई पनि प्रयोग गर्न दिने गरेकाले लाखौं रियलको जरिबाना तिर्नुपर्ने अवस्था छ। एक व्यक्तिको नामको रहेको ‘अकामा आईडी’ को प्रयोग गरेर १० ओटासम्म मोबाइल सिमकार्ड निकाल्ने र अरूले नै दुरुपयोग गर्ने क्रम पनि बढेको छ। त्यस्तो भयो भने जसको आईडीबाट सिमकार्ड निकालेको हो, उसले ५ हजार देखि २ लाख साउदी रियलसम्म जरिबाना तिर्नुपर्ने अवस्था रहेको यहाँस्थित दूतावासले जनाएको छ। त्यसैकारण दूतावासले साउदीमा कार्यरत नेपालीलाई आफूले चिनेका र सम्बन्धित कम्पनीमा काम गर्नेबाहेक अरू कसैलाई आफ्नो अकामा आईडी वा कपी नदिन आग्रह गरेको छ।

यहाँस्थित नेपाली दूतावासले साउदी सरकारसँगको समन्वयमा साउनमा मात्रै २ सय २५ जना नेपाली कामदारको बहिर्गमन भिसा उपलब्ध गराएको छ। जसमा १ सय ५ जना एक्जिट लागेका र १ सय ४० जना अकामा नवीकरण नगरिएका रहेका छन्। दूतावासका अनुसार अनुमतिपत्र ‘अकामा’ नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र सरल रूपमा प्रदान गर्नका लागि साउदी सरकारलाई आह्वान गरिएको छ।

]दूतावासले बहिर्गमन भिसा प्राप्तिको लागि साउदीमा कार्यरत नेपालीको अकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको हुनुपर्ने, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएका वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने, अकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ राजदूतावासबाट गर्न नमिल्ने साथै कुनै केस वा जरिबाना छ भने उक्त व्यक्तिको एक्जिट भिसा नलाग्ने जनाएको छ।

Published on: 1 September 2023 | Annapurna Post

Link

Back to list

;