s

साउदीमा १५ सय नेपाली अलपत्र

होम कार्की

काठमाडौँ — बहिर्गमन भिसा नपाएका १५ सय नेपाली श्रमिक घर फर्कन नपाएर साउदी अरबमा अलपत्र परेका छन् । विभिन्न कम्पनीमा कार्यरत ती श्रमिकमध्ये आधाजसो कम्पनीबाट भागेकाहरू हुन् । घर फर्कन नपाएकाहरूको उजुरी बढ्न थालेपछि एक्जिट (बहिर्गमन) भिसा व्यवस्थापन गर्न नेपाली दूतावासले साउदी अध्यागमनमा सूची पेस गरेको छ ।

भिसा पाएपछि मात्र साउदी अरब छाड्न पाइने भएकाले रियादस्थित नेपाली दूतावासले घर फिर्न वञ्चितको नामावली संकलन गरी साउदी सरकारलाई बुझाएको हो । पछिल्लो तीन महिनायता दूतावासमा एक्जिट भिसा नपाएका श्रमिकहरूको उजुरी बढ्न थालेको छ । ‘जसरी पहिले टिकट नपाएर स्वदेश फिर्न पाइएन भनेर उजुरी आउँथ्यो, त्यसरी नै अहिले एक्जिट भिसा पाइएन भनेर आउने गरेको छ,’ साउदीका लागि श्रम काउन्सेलर जीवन राईले कान्तिपुरसँग भने, ‘दूतावासको धेरै समय एक्जिट भिसा दिलाउन सहजीकरण गर्नका लागि खर्च हुन थालेको छ ।’

यसरी भिसा पर्खिनेहरू एउटै कम्पनीमा कार्यरत भने होइनन् । आधाजसो कम्पनी छाडेर वैधानिक कागजातविहीन अवस्थामा छन् । ‘एउटै कम्पनीमा काम गर्ने भएको भए समस्या हल गर्न सजिलो हुन्थ्यो । तर व्यक्ति–व्यक्तिलाई सम्बोधन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘एउटै कम्पनीमा सय जना र एक जना हुँदा एक्जिट भिसा लगाउने समय उही हो ।’

करार अवधि समाप्त भएपछि साउदीमा रोजगारदाताले स्वतः श्रमिकलाई घर पठाउन एक्जिट भिसा लगाइदिनुपर्ने नियम छ । रोजगारदाताले भने आवासीय कार्ड (अकामा) नबनाइदिने र नवीकरण नगरी राख्ने भएकाले एक्जिट भिसाको सहजीकरण गरिदिनुपर्ने दायित्व दूतावासलाई आएको हो । ‘आवासीय कार्डको म्याद भएसम्म रोजगारदाताको अनुमतिबिना साउदीको अधिकारीले पनि एक्जिट भिसा लगाइदिँदैनन् । कार्डको म्याद समाप्त भए वा नभएपछि एक्जिट भिसा लगाइदिँदा रोजगारदाताले जरिवाना बुझाउनुपर्छ । उनीहरूले जरिवाना बुझाउनुको साटो बरु श्रमिकलाई वैधानिक कागजातविहीन बनाएर राखिदिने गरेको भेटिन्छ,’ उनले भने ।

दूतावासका अनुसार नयाँ श्रमिक ल्याउन नपाएपछि पुरानो श्रमिकलाई स्वदेश नपठाउनका लागि पनि एक्जिट भिसा लगाइदिने गरेको छैन । ‘यो निकै ठूलो विषय बनेर आयो । करार अवधि समाप्त भएपछि आफ्नो घर फिर्छु भन्दा पनि सहजै जान पाएनन्,’ राईले भने, ‘यो विषयलाई निकै महत्त्वसाथ हामीले अध्यागमनका अधिकारीसमक्ष राखिसकेका छौं । अध्यागमनले सकारात्मक रूपमा लिएको छ ।’

कतिपय रोजगारदाता करार अवधि समाप्त भएपछि कामदारलाई दिनुपर्ने उपदानको खर्च जोगाउन पनि एक्जिट भिसा लगाइदिने दायित्वबाट भागेका छन् । ‘जुन कम्पनीका लागि आएका हुन्, जसले भिसाविहीन अवस्थामा पनि त्यही कम्पनीमा काम गरिरहेका छन्, उनीहरूले उपदानको दाबी गर्ने अधिकार नै छ । कतिपयले उपदान नदिई र जानकारी नै नदिई घर पठाउने योजना बनाएको भेटिन्छ,’ राईले भने, ‘कम्पनी छाडेर हिँडेका श्रमिकलाई भने घर जान पाए मात्रै हुन्छ ।’

दूतावासले पछिल्लो पटक अध्यागमनमा पठाएको १५ सय जनाको सूचीमा आधाजसो कम्पनीबाट भागेका श्रमिकहरू छन् । ‘जो रोजगारदाताले काम छाडेको भनेर अध्यागमनलाई सूचना दिएको छ भने मात्रै एक्जिट भिसा पाउने अवस्था रहन्छ । जसको रोजगारदाताले भागेको भनेर सूचना दिएको छैन वा चोरी मुद्दा लगाइदिएको छ भने अन्तिम छिनोफानो नभएसम्म स्वदेश फर्काउन सकिँदैन,’ उनले भने ।

एक्जिट भिसाको समस्या नै बढेको कारणले नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरण गर्न बाधा पुगेको छ । ‘एक्जिट भिसा नलगाइदिने कम्पनीलाई फेरि नयाँ श्रमिक ल्याउने कसरी अनुमति दिन सकिन्छ र ?’ उनले भने, ‘पठाउने म्यानपावर कम्पनीले पनि सहजीकरण गरिदिए पो सहज हुन्थ्यो ।त्यही दुःख दोहोरिरहने भए किन मागपत्र प्रमाणीकरण गर्नु र ?’

Published on: 9 December 2020 | Kantipur

Link

Back to list

;