s

साउदीले आममाफी अवधि थप्यो

होम कार्की

साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिइएको आममाफीको समय बिहीबार एक महिना थपेको छ । यसअघि मार्च २९ तारिखबाट लागू भएको तीन महिने आममाफी जुन २४ मा सकिएको थियो ।

साउदीको आन्तरिक मन्त्रालयले गैरकानुनी हैसियत भएका कामदारलाई बिनासजाय स्वदेश पठाउने कार्य एक महिनासम्म निरन्तरता दिएको हो । राहदानी विभागका निर्देशक सुलेमान अल–याहयाले स्वेछिक रूपमा फर्किन चाहनेलाई तोकिएको निकायले पठाउन सहजीकरण गर्ने बताए । 

तीनमहिने आममाफीमा ८० जना घरेलु कामदारसहित ७ हजार ३ सय नेपाली स्वदेश फर्केको नेपाली दूतावासले जनाएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियत भएका कामदारलाई सहजीकरण भइरहेको जनाएको छ । दूतावासले थप गरिएको समयमा छुटेका कामदारका लागि अवसर भएको जनाएको छ । 

साउदीको आन्तरिक मन्त्रालयले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्षअघि दिइएको आममाफीमा ३२ हजार नेपाली कामदार सहभागी भएका थिए । ‘गत मार्च १९ उता कम्पनी छोडेका कामदारलाई मात्रै स्वदेश फिर्ने अवसर दिइएको थियो,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कान्तिपुरलाई भने, ‘कम्पनी छाडेर हिँडेका नेपालीले यसलाई प्रयोग गर्नुपर्छ ।   

उनले गैरकानुनी हैसियतमा बसेका कामदार तोकिएको समयमा सबै नफर्केको जनाए । आममाफीमा कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरूले फाइदाका रूपमा लिनुपर्ने दूतावासले जनाएको छ ।

गैरकानुनी हैसियत भएका कामदार स्वदेश फिर्नका लागि दूतावासले ट्राभल डकुमेन्ट जारी गरेर सहयोग गर्दै आएको छ । दूतावासले अदालतमा केस भएका कामदार भने फर्किन नपाएको बताए । ‘दूतावासले सकेसम्म अदालतमा गएर केस छिटो टुंगाएर पनि पठाउन सकेको छ,’ उनले भने, ‘यसपालि अघिल्लो समयमा जस्तो धेरै कठिन भएन ।’ 

साउदीको राहदानी तथा अध्यागमन विभागले अनलाइनबाटै समय लिने व्यवस्था मिलाएको छ । नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार तलब, काम र सेवा सुविधा नपाउँदा कामदारहरू भाग्ने प्रवृत्ति रहेको बताए । ‘यहाँ पीडित कामदारलाई स्वदेश उद्धार गर्न हामी प्रयासरत छौं । सम्पर्कमा आएकालाई कम्पनी नछोड्न अनुरोध गर्दछौं,’ उनले भने, ‘तैपनि कामदारहरू चाहेको जस्तो नदेखेपछि भागिरहेका हुन्छन् ।’

भागेका कामदार जेल बसेर स्वदेश फिर्न निकै कठिन भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिनजसो दुई दर्जन नेपाली फर्किरहेका थिए । 

आममाफी प्रक्रियामा नेपालीलाई सहभागी गराउनका लागि दूतावासले विभिन्न क्षेत्रमा पुगेर सहयोग गर्न नेपाल सरकारले ५० लाख रुपैयाँ निकासा सहयोग गरेको थियो । जसमध्ये २५ लाख रुपैयाँ मात्रै निकासा गरेको थियो । थप रकम निकासा गर्न दूतावासले अनुरोध गरेको छ ।  

साउदीमा झन्डै ६ लाख नेपाली कार्यरत छन् । त्यसको १० प्रतिशत कामदार गैरकानुनी हैसियतमा रहेको अनुमान गरिएको थियो । तीन वर्षअघि साउदीको आममाफीमा झन्डै २५ लाख आप्रवासी कामदार सहभागी भएका थिए । 

Published on: 2 June 2017 | Kantipur

Back to list

;