s

साउदीको जेद्दा क्षेत्रमा ३४ नेपाली संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । जसमा दुई जना महिला छन् ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले संक्रमित सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए । उनले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि (पिआरओ) र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताए । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ । अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ ।

‘यहाँको उपचारमा साउदी र गैरसाउदीबीच भेदभाव गरिएको छैन । बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान नगर्ने चलन छ । यसले पनि साउदीले सबैको लागि उपचार पद्धतिलाई समानता कायम गर्न खोजेको पुष्टि हुन्छ,’उनले भने,‘मेरो सबै बिरामीसँग पनि सम्पर्क छ । कसैले पनि उपचारमाथि गुनासो गरेको छैन ।’

३४ मध्ये २ जना निको भइसकेको छ । १८ जना अस्पतालमा छन् । १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए । संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन् ।

साउदीमा यसबाहेक पनि नेपाली संक्रमित छन् । राजधानी रियादस्थित नेपाली दूतावासको क्षेत्रधिकार पर्ने रियाद, दमाम, जुवेल, खोवरमा संक्रमित नेपालीको सख्या खुलाइएको छैन । त्यस क्षेत्रमा संक्रमित नेपाली दूतावासको सम्पर्कमा छन् ।

साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ । हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ । एक सय ७६ जनाको मृत्यु भएको छ । 

कुवेतमा ७७ जना पुग्यो 

कुवेतमा शनिबार थप ३ नेपाली संक्रमित भएका छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ७७ पुगेको छ । कुवेतका जिलिप र महावुल्ला क्षेत्रमा बस्ने नेपाली बढी संक्रमित भइरहेको छ । संक्रमित नेपालीले उपचार चित्ताबुझ्दो रहेको बताए । ‘संक्रमितको रिपोर्ट आएको चार दिन भयो । मलाई अस्पतालमा राखिएको छ’, एक नेपालीले भने,‘म कामदार ओसार्ने गाडी चलाउँदै आएको थियो । कसरी संक्रमित भए भनेर बुझेकै छैन ।’ 

उनले स्वास्थ्यमा कठिनाई नभएको बताए । ‘अहिलेसम्म सामान्य अवस्थामा छु । नियमित चेकजाँच भइरहेको छ’, उनले भने ।

कुवेतमा शनिबार थप २ सय ४२ जना संक्रमित भएका थिए । कुवेतमा ४६ सय १९ जना पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी बहराइनमा नेपालीको संक्रमितको सख्या १२६ जना पुगेको छ । मलेसियामा भने ३ संक्रमित छन् । कतारले भने अहिलेसम्म राष्ट्रियता खुलाएको छैन । कतारमा शनिबार ७ सय ७६ जना कोभिड–१९ का संक्रमित भएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा यो नतिजा सार्वजनिक भएको हो । यससँगै कतारमा संक्रमितको संख्या १४ हजार ८ सय ७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ५ सय ३४ जना निको भएर घर फर्किएका छन् । कतारमा अहिलेसम्म एक लाख एक हजार ७ सय २८ जनाको कोरोना जाँच भएको छ । कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Published on: 2 May 2020 | Kantipur

Link

Back to list

;